३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

लालीगुराँसले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

अग्रता जोगाउन नसक्दा अपराजित टोली लालीगुराँस एसोसिएसनले जारी एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा लालीगुराँसले फ्रेन्ड्स क्लबसँग १–१ को बराबरी नतिजा सामना गर्‍यो। लालीगुराँसले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो। लालीगुराँसका लागि सरोज गुरुङले गोल गरेका थिए तर फ्रेन्ड्सका जेनिस प्रजापतिले गोल फर्काए।

लालीगुराँसले १४औं स्थानको फ्रेन्ड्स क्लबविरुद्ध धेरै चुनौती दिए पनि जित निकाल्न सकेन। दोस्रो स्थानको लालीगुराँस लिगमा अपराजित छ। फ्रेन्ड्सलाई हराए लालीगुराँस शीर्ष स्थानमा उक्लिन सक्थ्यो तर अंक बाँडेपछि दोस्रो स्थानमा नै सीमित भयो। सात खेलबाट पुसिल १९ अंकसहित शीर्ष स्थानमा छ भने आठ खेलबाट लालीगुराँसले १८ अंक जोड्यो। सरोज गुरुङले करिब १८ यार्डबाट दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरे।

यससँगै पहिलो हाफमा लालीगुराँस अगाडि रह्यो। दोस्रो हाफमा फ्रेन्ड्सले गोल फर्कायो। फ्रिकिक बललाई सदुपयोग गर्दै जेनिसले गोल गरेका हुन्। यसपछि थप गोल हुन सकेन र खेल १–१ को बराबरीमा नै सकियो। यो बराबरीपछि फ्रेन्ड्सले आठ खेलबाट ६ अंक बटुल्यो। यो बराबरीपछि फ्रेन्ड्स १३औं स्थानमा उक्लिन सफल भयो।  त्यसअघि नाइजेरियन स्ट्राइकर रिचार्ड चुक्युदालु ओन्यमाको ह्याट्रिक प्रेरणामा संकटा क्लबले राष्ट्रिय लिगमा दोस्रो जित निकाल्दै अंकतालिकामा सुधार गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा संकटाले एन्फा प्रेसिडेन्ट लिगबाट आएको चित्लाङ एफसीमाथि ४–० को सहज जित निकाल्यो। संकटाको जितमा विदेशी खेलाडी चम्किए। रिचार्डले ह्याट्रिक पूरा गर्दा अर्का विदेशी खेलाडी टाय ड्यानिल बाडारुले एक गोल गरे।

अंकतालिकाको १०औं स्थानको चित्लाङ र ११औं स्थानको संकटाबीच प्रतिस्पर्धा भएको हो। जहाँ सहिद स्मारक ‘ए’ डिजिभन क्लब पूर्ण हाबी भयो र नवौं स्थानमा उक्लिएको छ। चित्लाङ भने एक स्थान तल झरेको छ। संकटाले पहिलो हाफमा नै तीन गोल गर्‍यो। दोस्रो हाफमा खेलमा फर्कने चित्लाङको प्रयास सफल भएन र उल्टै चौथो गोल बेहोर्‍यो। संकटाले आठ खेलबाट ९ अंक जोड्यो।

संकटाले तीन हार र तीन बराबरीको सामना गरेको छ। चित्लाङको भने यो तेस्रो हार हो। समान खेलबाट चित्लाङ सात अंक जोड्दै १२औं स्थानमा झरेको छ। चित्लाङले चार बराबरी र एक जित निकालेको छ।

आफ्नो आठौं खेलमा चित्लाङ पहिलो मिनेटदेखि नै दबाबमा पर्‍यो। रिचार्डले खेलको पहिलो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए। ३५औं मिनेटमा टायको गोलबाट संकटाले अग्रता दोब्बर बनायो। पहिलो हाफको थप समयमा संकटाले तेस्रो गोल गर्‍यो।

यसपल्ट रिचार्डले व्यक्तिगत दोस्रो गोल गरेका हुन्। पहिलो हाफमा संकटा ३–० ले अगाडि रह्यो। दोस्रो हाफमा गोल हुन धेरै समय पर्खनु पर्‍यो। ७५औं मिनेटमा रिचार्डले गोल गर्दै ह्याट्रिक पूरा गरे। यससँगै संकटा ४–० को सहज अग्रतामा पुग्यो। यसपछि बाँकी समयमा थप गोल हुन सकेन र संकटाले दोस्रो जित निकाल्यो।

प्रकाशित: १६ फाल्गुन २०८२ १३:५३ शनिबार