राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भ्रष्टाचार निवारण विभाग प्रमुख तथा प्रदेश सदस्य, मोरङ क्षेत्र नम्बर २ का पूर्वउम्मेदवार ठगेन्द्रप्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन्। शुक्रबार साँझ औपचारिक रूपमा पार्टी छाडेका उनले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै रास्वपा ‘सिक्किमीकरण’को दिशातर्फ उन्मुख भएको गम्भीर आरोप लगाए।
लामो समयदेखि कृषक सशक्तीकरण र ‘माटो फुलाउने’ अभियानमा सक्रिय न्यौपानेले देशको राष्ट्रिय राजनीतिमा बढ्दो संकट देखिएकाले अब माटो जोगाउने आन्दोलनको आवश्यकता महसुस भएको बताए। सोही उद्देश्यले आफू राष्ट्रवादी धारमा उभिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) रोजेको उनले घोषणा गरे।
पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले रवि लामिछाने र बालेन्द्र शाहतर्फ संकेत गर्दै पार्टीका नेतृत्व तह ‘फ्री फायर र पब्जीका सिपाहीजस्ता’ भएको टिप्पणी गरे। उनका अनुसार वर्तमान नेतृत्व राष्ट्र र जनताप्रति जिम्मेवार नभई भावनात्मक र अपरिपक्व ढंगले अघि बढिरहेको छ।
न्यौपानेले इटहरीमा सम्पन्न एक बैठकमा आफूले नै आगामी परिस्थितिबारे चेतावनी दिएको स्मरण गर्दै अहिलेका उम्मेदवारहरू अन्य कुनै शक्तिबाट निर्देशित भएको अनुभूति भएको बताए। टिकट वितरण प्रक्रियामा देखिएको अपारदर्शिता र आन्तरिक असन्तुलनप्रति पनि उनले तीव्र असन्तोष व्यक्त गरे।
‘सिक्किमीकरण’को प्रसंग जोड्दै उनले सिक्किमका मतदाताले मतदानमार्फत नै भारतमा विलय भएको ऐतिहासिक उदाहरण स्मरण गराए। अहिले रास्वपाका उम्मेदवारहरूको व्यवहार र राजनीतिक शैलीले त्यस्तै जोखिमको संकेत गरेको उनको दाबी छ। मतदातालाई सचेत रहन आग्रह गर्दै उनले प्रतिनिधि वा दलको पृष्ठभूमि, विचार र जिम्मेवारीबोध बुझेर मात्र मतदान गर्न अनुरोध गरे।
एमाले रोज्नुको कारण स्पष्ट पार्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालको नाकाबन्दीका बेला लिएको राष्ट्रवादी अडान र ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानले आफूलाई आकर्षित गरेको बताए। दक्षिण कोरियाको सहज जीवन छोडेर देश निर्माणका लागि फर्किएको सिपाही भएको उल्लेख गर्दै उनले ओलीविरुद्ध भइरहेका आलोचना र आरोपहरूलाई अतिरञ्जित र योजनाबद्ध भएको जिकिर गरे।
उनले राजनीति आफ्नो लागि पद वा प्रतिष्ठाको विषय नभई किसान र माटोको समस्या राज्यको नीतिमा स्थापित गर्ने माध्यम भएको स्पष्ट पारे।
प्रकाशित: १६ फाल्गुन २०८२ १३:५९ शनिबार





