इरानको राजधानी तेहरानमा जारी भीषण हवाई आक्रमणलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ‘उदात्त मिसन’ को संज्ञा दिएका छन्। उनले ट्रुथ सोसियलमार्फत इरानी जनतालाई सम्बोधन गर्दै ‘तपाईंहरूको स्वतन्त्रताको घडी नजिकै छ’ भन्दै अब आफ्नो भाग्यको फैसला आफैँ गर्ने समय आएको बताए।
ट्रम्पले इरानी शासनबाट उत्पन्न हुने ‘आसन्न खतरा’ लाई निर्मूल पार्न अमेरिकाले व्यापक युद्ध अभियान सुरु गरेको दाबी गरे। उनले इरानी अधिकारीलाई हतियार बिसाउन चेतावनी दिँदै अन्यथा ‘निश्चित मृत्यु’ को सामना गर्नुपर्ने बताए। यस युद्धमा केही अमेरिकी सैनिकको ज्यान जान सक्ने भए पनि भविष्यको सुरक्षाका लागि यो कदम चालिएको उनले स्वीकार गरे।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो नयाँ सैन्य अभियानको नाम ‘लियोन्सर’ राखेका छन्। ट्रम्पका अनुसार इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको र अमेरिकासम्म पुग्ने क्षेप्यास्त्र बनाउने योजना बुनिरहेकाले सैन्य शक्ति प्रयोग गर्नु अनिवार्य भएको हो। आक्रमणका क्रममा उत्तरी इजरायलमा समेत विस्फोटका आवाज सुनिएका छन्।
प्राप्त जानकारी अनुसार इरानका सर्वोच्च नेता अलि खामेनीको कार्यालय नजिकै समेत प्रहार भएको छ। यो सैन्य अभियानमा अमेरिका प्रत्यक्ष सहभागी छ। ८६ वर्षीय खामेनी पछिल्लो समय सार्वजनिक रूपमा देखिएका छैनन्।
यता इरानले भने आफ्नो युरेनियम संवर्द्धन गर्ने र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गर्ने अधिकार सुरक्षित रहेको अडान राख्दै आएको छ। इरानी अधिकारीले क्षेप्यास्त्र कार्यक्रम आफ्नो रक्षात्मक क्षमता भएको र यसमा कुनै पनि हालतमा वार्ता नगर्ने स्पष्ट पारेका छन्। इरानले यो युद्ध इजरायल र अमेरिकाले सुरु गरेको आरोप लगाउँदै शत्रुलाई कुल्चने चेतावनी दिएको छ।
आक्रमण लगत्तै क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। इराकले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको छ भने इजरायली अस्पताललाई आपत्कालीन सेवाका लागि तयार रहन र विभागलाई भूमिगत पार्किङमा सार्न निर्देशन दिइएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबीले त्यहाँ रहेका अमेरिकी नागरिकलाई आश्रयस्थल (सेल्टर) नजिकै रहन आग्रह गरेका छन्।
प्रकाशित: १६ फाल्गुन २०८२ १४:११ शनिबार





