२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

मनाङ यात्रामा मौसम बाधक

हिमाली जिल्ला मनाङ भ्रमणका लागि असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ। यस समयमा मनाङमा पर्यटकको आगमनले भरिभराउ हुने हो। यस वर्ष मनाङमा पर्यटक शून्य नै छ।

बाह्य पर्यटकको आगमनका लागि जेन - जीको आन्दोलनले प्रभाव पारे पनि आन्तरिक पर्यटक आउने अपेक्षा मनाङवासीले गरेका थिए। दसैंको बिदामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने समय हो। यस वर्षको दशैं बिदामा घुम्ने योजना बनाएका आन्तरिक पर्यटकका लागि मौसम बाधक बन्न पुग्यो।

तनहुँको व्यास नगरपालिका–३ दमौली निवासी संगीत घिमिरे मनाङ भ्रमणमा जाने योजना बनाएकामा अहिले स्थगित गरेको बताउँछन्।

उनी भन्छन्, “मनाङको सौन्दर्यले आकर्षण गरिरहेको अवस्थामा एकपटक पुग्ने योजना बनाइएको थियो तर योजना योजनामै सीमित भयो।”

दसैँको टीकाको भोलिपल्ट यात्रामा निस्कने भनिएकामा मनसुन सक्रिय भएर भारी वर्षा हुने सूचनाका कारण यात्रा स्थगित गरिएको घिमिरे बताउँछन्। “लामो समयदेखि एकपटक मनाङ पुग्ने धोको थियो, वर्षाका कारण योजना नै स्थगित गरेर बसेका छौं, उनी भन्छन्, “बल्लतल्ल समय मिलाएर बनाएको योजना ‘क्यान्सिल’ भएपछि अब कहिले जाने भन्ने निश्चित छैन।”

“चार जनाको समूह बनेर टीकाटालो गरी निस्कने योजना नै क्यान्सिल गरियो”, उनी भन्छन्, “मनाङ पुगेर फर्किने यहाँका मानिसले त्यहाँको सुन्दरताको बयानले अझ प्रलोभनमा पारेको छ, यात्रा सफल बनाउन सकेनौं, मौसम तगारो बन्यो।” 

जल तथा मौसम विज्ञान विभागले दसैंको टीकापछि तीन दिन यात्रा नगर्न सूचित गरेपछि अधिकांश आन्तरिक पर्यटकको मनाङ यात्रा रोकिएको छ। घिमिरेका समूह जस्तै अन्य आन्तरिक पर्यटकले अहिले हिमाली मनाङको यात्राका लागि मौसम बाधक बनेको छ। दशैंको टीका लगाएर मनाङ भ्रमणमा जाने योजना स्थगित गर्न बाध्य भएका छन्।

जेनजीको आन्दोलनका कारण बाह्य पर्यटकको आगमन तथा बुकिङ भएका होटल समेत स्थगित गरेकाले मनाङ सुनसान भएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए। “जेनजी आन्दोलनले विदेश पर्यटक आगमनमा नभए पनि आन्तरिक पर्यटक आउने आशामा थियौं तर यस वर्ष मौसमका कारण आन्तरिक पर्यटकको आगमन पनि हुन सकेन।”

मनाङको प्राकृतिक सौन्दर्यले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्दै यहाँको आयस्रोतले देशकै अर्थतन्त्रमा प्रभाव पार्दछ। मुख्य पर्यटकीय समयमा नै पर्यटकको आगमन भएको छैन।

विगतमा विदेशी पर्यटक खचाखच हुने भए पनि यस वर्ष जेन-जी आन्दोलनले यहाँको पर्यटकीय क्षेत्रमा परेको प्रभावले देशको अर्थतन्त्रलाई असर गरेको छ।

थोरै जनसङ्ख्या भएको मनाङमा आन्तरिक पर्यटकको पनि यस पटक आगमन नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलले बताए।

चाडपर्वका बेलामा घुम्ने परम्परा विकसित भएसँगै यहाँ आन्तरिक पर्यटक पनि वर्षा, पहिरो तथा जेन-जी आन्दोलनको प्रभावले आउन नसकेको उनको भनाइ छ।

विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने मनाङका होटेल यसपालि पर्यटकीय मौसमको सुरुमै सुनसान बनेको होटेल व्यवसायी फुर्वा लामाले बताए। यहाँका बुकिङ भएका होटेल पनि रद्द भएका उनले बताए।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले दसैं सकिन नपाउँदै मौसमका कारण बिदामा मिलाएर मनाङ भ्रमणमा आउने पर्यटक पनि आउन नसकेको बताए।

 “टीकाटालो गरेपछि मनाङ घुम्न जान्छु भन्ने आन्तरिक पर्यटकलाई यस पटक मौसम बाधक बन्यो”, उनले भने, “जेनजी आन्दोलनले प्रभाव पारेको पर्यटन व्यावसायलाई मौसमले पनि साथ दिएन।”

विशेषगरी स्वदेशी तथा विदेशी पर्यटकको मनाङ आगमनले देशकै अर्थतन्त्रमा महत्त्वपूर्ण मानिन्छ। अहिले देशमा नै अर्थतन्त्र घाटामा पुग्ने देखिएको अध्यक्ष गुरुङको भनाइ छ। मनाङवासीको आम्दानी पर्यटन र कृषि तथा पशुपालन हो तर आम्दानी शून्य भएको छ।

विदेशी पर्यटक विश्वकै १०औं स्थानमा पर्ने अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल अरोहण गर्न आउने गर्दथे।

स्वदेशी पर्यटक भने चाडपर्वको समयमा लामो बिदामा मनाङलाई भ्रमणको गन्तव्य बनाएर पुग्ने गर्दथे तर पर्यटकको लर्को लाग्ने यस समयमा नै यस वर्ष सुनसान छ।

प्रकाशित: २० आश्विन २०८२ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App