२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

निर्वाचन भयरहित बनाउन आईजी कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उच्च व्यावसायिकता र अनुशासनका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिएका हुन्।

सङ्गठनको श्रीवृद्धिका लागि सामूहिक सहकार्य आवश्यक रहेको औंल्याउँदै उनले नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा कुनै सम्झौता नगर्न सचेत गराए।

‘समाजमा देखा परेको सुरक्षा चुनौतीहरूको सामना गर्न प्रभावकारी प्रहरी परिचालन आवश्यक छ,’ आईजीपी कार्कीले भने, ‘कुनै पनि अपराधविरुद्ध निर्मम भई आ-आफ्नो जिम्मेवारी वहन गर्नुहोस्।’

उनले अपराध अनुसन्धानलाई पारदर्शी र वस्तुनिष्ठ बनाउन, सीमा नाकामा हुने तस्करी नियन्त्रण गर्न, अवैध हातहतियार बरामद गर्न तथा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखेर नतिजामुखी काम गर्न मातहतका निकायलाई निर्देशन दिए।

साथै, भीड नियन्त्रणमा सिलसिलेवार बल प्रयोगको सिद्धान्तलाई कडाइका साथ पालना गर्न र सवारी दुर्घटना न्यूनीकरणमा थप सक्रिय हुन पनि उनले आग्रह गरे।

नागरिकका गुनासो सम्बोधन गर्दा शिष्ट बोली, बचन र व्यवहार प्रदर्शन गर्नुपर्नेमा आईजीपी कार्कीको जोड थियो। स्थानीय तह र सरोकारवाला निकायहरूसँगको समन्वयमा व्यावसायिक, उत्तरदायी र जवाफदेही सेवा प्रवाह गर्न उनले निर्देशन दिए।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्बेदीले पनि समसामयिक विषयमा निर्देशन दिएका थिए।

भर्चुअल बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालय, तालिम केन्द्र, विशेष सुरक्षा गण, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २४ पुस २०८२ १७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App