२१ पुस २०८२ सोमबार
image/svg+xml
समाज

लेखा अधिकृतको अधिकार खोस्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी डा.लामिछाने

उपकुलपति हुन अयोग्य रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको नियुक्ती वैध वा अवैध निर्क्यौल भैसकेको छैन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न प्रतिष्ठानको नियमावलीले तोकेको मापदण्ड बमोजिम उनको योग्यता नपुगेको दाबी सहितको उजुरी उनी उपर छ । प्रतिष्ठानका लागि योग्य व्यक्ति उपकुलपतिमा आएको भन्दै वाहवाह गाइएका डा. लामिछाने अहिले भने अयोग्य दाबीको सिकार बनिरहेका छन् । फलतः उपकुलपति नियुक्तिका बेलाको उनको ओज अहिले तल खस्किएको छ ।  

यतिमात्रै हैन, उनी प्रतिष्ठानमाथि एकल रुपमा हाबी हुन खोजेको आरोप प्रतिष्ठान भित्रैबाट व्यापक रुपमा लाग्ने गरेको छ । प्रतिष्ठानको हरेक निर्णय प्रक्रियामा उनी जबरजस्त हाबी हुँदै आएका छन् । यहाँ सम्मकी प्रतिष्ठानकै नियमावली मिचेर प्रतिष्ठान माथि उनले एकल हक जमाउन खोजिरहेको आरोप प्रतिष्ठान स्रोत लगाउँछ । उनको एकल रजगज गर्ने नियतकै कारण प्रतिष्ठानका लेखा अधिकृत हस्ताक्षर नचल्ने अधिकृतका रुपमा दर्ज भएका छन् । लेखाको सम्पूर्ण कामकाज अधिकृतले गर्छन् तर उनको सही छाप भने चल्दैन । लेखाधिकृतको यो अधिकार खोसेर उपकुलपति डा.लामिछानेले आफ्नो हस्ताक्षरलाई अनिवार्य बनाएका छन् ।

‘लेखा अधिकृतले अनिवार्य रुपमा सही गर्नुपर्ने हो, तर प्रतिष्ठानमा लेखा अधिकृतको यो अधिकार खोसेर भिसी आफूले आफ्नो हस्ताक्षरलाई अनिवार्य बनाएको अवस्था छ, यहाँ सम्मकी ५ लाखसम्मको चेकमा समेत उहाँको हस्ताक्षर अनिवार्य छ,’ प्रतिष्ठान स्रोतले भन्यो ‘यसमा भिसीको कुनियत छ भन्ने प्रस्टै हुन्छ नि ।’ प्रतिष्ठानको उक्त स्रोतले बैंक चेकमा आफ्नो हस्ताक्षर चल्नै पर्ने अनिवार्य गरिनुलाई आर्थिक लाभका रुपमा आरोप लगाउँछ ।  

प्रतिष्ठान स्रोतले भने अनुसार लेखाका हरेक निर्णयमाथि आफ्नो हस्ताक्षर गर्दै आएका उपकुलपति आर्थिक लाभसँग जोडिएका छन् वा छैनन् यो अर्को पाटो भयो । तर उपकुलपति डा. लामिछानेले लेखाधिकृतको अधिकार खोसेर लेखाको निर्णयमा हस्ताक्षरको अधिकार जमाउनु भनेको प्रतिष्ठानको विधि र विधान विपरीत हो । 

प्रतिष्ठानको नियमावलीले प्रतिष्ठानको खाता प्रतिष्ठानका रजिष्ट्रार र लेखा अधिकृतको संयुक्त हस्ताक्षरबाट चलाइनु पर्ने स्पष्ट व्यवस्था गरेको छ । अर्थात लेखाको कारोबारमा उपकुलपति डा. लामिछानेले हस्ताक्षर गर्न नपाउने स्पष्ट छ । तर उपकुलपति लामिछानेले प्रतिष्ठानको नियमावलीलाई कुल्चेर लेखाको कारोबारमा ठाडै हस्तक्षेप गरेको दाबी प्रतिष्ठान स्रोतको छ । 

प्रतिष्ठानको लेखा कारोबार उपकुलपति लामिछाने र रजिष्ट्रार श्याम लम्सालको हस्ताक्षर बाट चल्दै आएको छ । ‘लेखाको कारोबारमा भिसीले ठाडै हस्तक्षेप गरेको अवस्था छ,’ प्रतिष्ठान स्रोतले भन्यो ‘यसमा भिसीको नियत के हो भन्ने प्रश्न स्वाभाविकै रुपमा उठ्छ नि, लेखा माथि ठाडै हस्तक्षेप किन गरियो त भन्ने प्रश्न हो नि ।’ 

प्रतिष्ठानको बजेट खर्च र खाता सञ्चालन सम्बन्धी नियममा ‘प्रतिष्ठानको विभिन्न कोषको आर्थिक कार्य सञ्चालन रजिष्ट्रार वा निजले तोकेको पदाधिकारी र लेखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुने छ’ भन्ने उल्लेख छ । तर लेखा प्रमुखले गर्न पाउनु पर्ने अधिकार उपकुलपतिले खोसेका छन् ।  

प्रकाशित: २० श्रावण २०८२ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App