नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर शुक्रबार साँझ परिवारसहित स्वदेश फर्किएका छन्। कतार एयरलाइन्सको विमानबाट उनी कतार हुँदै अमेरिका प्रस्थान गरेका हुन्।
आइतबार जारी गरेको भिडियो सन्देशमा राजदूत थम्पसनले नेपालले दिएको मायाप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले अमेरिका र नेपालले ७९ वर्षमा गरेको प्रगतिबारे पनि चर्चा गरेका छन्। उनले भविष्यमा दुई देशबिच व्यापार, लगानी र नवीनता मार्फत साझेदारी बढ्ने आशा पनि व्यक्त गरेका छन्।
भिडियोमा उनले तीन वर्षको अनुभव साट्दै नेपाल आएपछि सातै प्रदेश घुमे, विभिन्न पृष्ठभूमिका नेपालीसँग भेटेर यहाँका मानिसहरूको दृढ संकल्प र आशाले सबैभन्दा बढी प्रभावित पारेको बताएका छन्। उनले म:म खाँदै हिँडेको, नेपालका मठ मन्दिरको इतिहास सिक्ने, गोर्खामा पिस्कोर परिवारसँग खाना खाएकाजस्ता सम्झनाहरू साटेका छन्।
उनले अमेरिका–नेपाल साझेदारीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट, स्वास्थ्य, मानव बेचबिखनविरुद्ध लडाइँ, लागूपदार्थ तस्करी नियन्त्रण, विपद् तयारी र निजी क्षेत्रको सहकार्यबाट भएको प्रगतिमा खुसी व्यक्त गरेका छन्। उनले आगामी दिनमा आर्थिक सम्बन्ध, जनता–जनता सम्बन्ध र नवप्रवर्तनमार्फत साझेदारी अझ बलियो हुने आशा राखेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षको अन्त्यतिर नेपालसहित ३० देशका राजदूतहरूलाई फिर्ता बोलाएका थिए। सोही कारण थम्पसन बिदा भएका हुन्। उनले सन् २०२२ मा पदभार सम्हालेका थिए।
प्रकाशित: ४ माघ २०८२ ११:०१ आइतबार





