बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले यति बेला पर्यटन क्षेत्र त्रसित छ। यो पटक पर्यटकीय सिजन सुरु भएसँगै प्राकृतिक विपद्को मार खेप्न थालेको पर्यटन क्षेत्र यतिखेर जसोतसो ब्यूतिन मात्र के खोज्दै थियो, फेरि चक्रवातको चपेटामा परेको छ।
चक्रवातको त्राससँगै पदयात्रामा रहेका पर्यटक धमाधम फर्किन थालेका छन्। गन्तव्यमा पुग्नै नपाई पर्यटक फर्किन थालेको व्यवसायीले बताएका छन्।
गन्तव्यमा पुग्नै नपाई पर्यटक फर्केका मात्र होईनन्, जाने तयारीमा रहेका पाहुनालाई पनि उच्च हिमाली क्षेत्रमा नजान पर्यटन सम्बद्ध निकायले रोक समेत लगाइसकेका छन्।
सरकारले नै उच्च हिमाली भेगमा नजान पर्यटकलाई अनुरोध गरिसकेको छ। अझ अन्नपूर्ण क्षेत्रभित्र त तीन हजार मिटर माथि नजानु भनेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पर्यटकलाई उर्दी नै जारी गरेको छ। पर्यटन बोर्डले पनि पर्यटकलाई सतर्क रहन भनेको छ।
पर्यटन क्षेत्रले सिजनमा खेपेको यो पहिलो मार भने होइन। सिजनको सुरुमै रसुवा भोटेकोशी बाढीको मार खेपेको पर्यटन क्षेत्रले त्यो बेला ठुलो आकारमा बुकिङ गुमायो।
बाढीमा परेर सयौँ पर्यटक पनि सम्पर्कविहीन भए। पर्यटन क्षेत्रको त्यो मार त्यत्तिमै सीमित रहेन, असोजको दोस्रो साताको बाढी पहिरोको मारमा पनि परिहाल्यो।
ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध हुँदा पर्यटक गन्तव्यमा पुग्नै पाएनन्। त्यत्ति मात्र नभई पदमार्ग अवरुद्ध हुँदा पाहुनाको हिमाली भेगको पदयात्रा नै रोकियो। बाढी पहिरोले कटान गर्दा अन्नपूर्ण क्षेत्रका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यसम्मको पहुँच नै टुट्यो।
साहसिक पदयात्राका हिसाबले परिचित पदमार्गको पदयात्रा रोकिँदा पर्यटकहरू निराश बनेर फर्किन बाध्य भए।
पर्यटनको त्यो सकस त्यसमा मात्र सीमित रहेन, फेरि मनास्लु क्षेत्रमा बाढी आयो। त्यसले पनि मनास्लु क्षेत्रको पदयात्रामा रहेका धेरै पर्यटकको पदयात्रा बिथोलियो।
कयौँ पर्यटकलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था सिर्जना भयो। त्यसअघि पनि मनास्लु हिमाल आरोहण गर्न गएका पर्यटक प्राकृतिक विपद्कै मारमा परेका थिए।
गोरखाको माथिल्लो क्षेत्रमा आइपरेको उक्त विपद्सँगै मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्या)ले केही दिनका लागि उक्त क्षेत्रमा पदयात्रा नै रोक्नुपरेको थियो।
एउटै सिजनमा बारम्बार विपद् खेपेको पर्यटन क्षेत्र जसोतसो तङ्ग्रिन खोजेको मात्र के थियो, यति बेला फेरि चक्रवातको प्रभावमा परेको छ।
अहिले नै चक्रवातले यात्रा अवरुद्ध नगरेको भए पनि सरकार र पर्यटन सम्बद्ध निकायले सचेत गराएसँगै पर्यटकहरू पनि सशंकित बनेका छन्।
‘यो सिजनमा पर्यटन क्षेत्रले बारम्बार मार खेप्नुपरेको छ। यत्तिसम्मको त्रास बढेको छ की नेपालको हिमाली क्षेत्रको पदयात्रा पुरै असुरक्षित रहेको भन्ने खालका सन्देश प्रवाह हुन थालेको छ,’ पर्यटन व्यवसायी विजय केसी भन्छन्, ‘हिमाली भेगको पदयात्रा असुरक्षित रहेको भन्ने सन्देशले अहिले पर्यटक नै झस्किने अवस्था सिर्जना भएको छ।’
एउटै सिजनमा बारम्बार मार खेप्नुपरेपछि पर्यटन क्षेत्र अत्तालिने अवस्थामा पुगेको व्यवसायीको भनाई छ। ‘सुरुवाती समयमा यो सिजनको बुकिङ निकै नै राम्रो थियो। तर, पर्यटकीय सिजन सुरु हुनै लागेको मात्र के थियो, बारम्बार विपद् निम्तिए। त्यसले पर्यटन क्षेत्रलाई ध्वस्त बनायो,’ माछापुच्छ्रे आधारशिविर (एबिसी)का पर्यटन व्यवसायी दिलीप गुरुङ भन्छन्, ‘पर्यटन क्षेत्रमा बारम्बार जोखिम निम्तिए। दोहोर्याउँदै घटना हुन थालेपछि सम्पूर्ण पर्यटन क्षेत्र सशंकित बनेको छ।’
उनका अनुसार यति बेला चक्रवातको त्रासका कारण पाहुनाको बसाई अवधि छोटिएको छ। ‘दिनमा ३÷४ घण्टा मात्रै पदयात्रा गर्नेगरि तालिका बनाएका पदयात्री अहिले दिनमै ७÷८ घण्टा हिँडेर भए पनि बसाई छोट्याउने गरी पदयात्रा गरेका छन्। अन्नपूर्ण आधारशिविर (एबिसी)मा आएका पाहुना धमाधम फर्किरहेका छन्,’ उनले भने, ‘यो सिजन पुरै त्रासैत्रासमा बित्ने भयो। एकै सिजनमा ४/५ पटक विपद् निम्तिए। बारम्बारका विपद्ले यो सिजनलाई लथालिंग बनाएको छ।’
सिजनको आगमनले खचाखच रहेको आधारशिविर क्षेत्र अहिलेकै त्रासका कारण अबका केही दिनमा शून्यमा झर्ने त्रास बढेको समेत उनले बताए।
व्यवसायीका अनुसार सेप्टेम्बरबाट सुरु हुने यो पर्यटकीय सिजन सुरक्षित मानिन्थ्यो। वर्षायाम सकिने र चिसो नबढ्ने हुनाले यो बेला पदयात्रा रोमाञ्चक मात्र नभई सुरक्षित पनि हुने गर्दथ्यो। हिमपात सुरु नहुने भएकोले पदयात्रा सहज हुने गरेको थियो। तर, यो पटक त्यो अवस्था रहेन।
‘सिजन सुरु हुन लागेदेखि विपद्का घटना दोहोरिएका छन्। त्यसले एकातिर आर्थिक क्षति त भएको छ नै अन्नपूर्ण क्षेत्रको पर्यटनमाथि नै प्रश्न उब्जन थालेको छ,’ उनले भने, ‘यो सिजन सुरक्षित मानिने हो। यति बेला हिमपातको समय पनि होइन । तर यो वर्ष हिमपात र वर्षाको लागि कुनै निश्चित समय नै रहेन।’
नेपाल मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको बताएको छ।
उक्त प्रणालीले पर्याप्त जलवाष्प बोकेर ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले नेपालमा वर्षा गराउने अवस्था सिर्जना भएको विभागले बताएको छ।
विभागका अनुसार चक्रवातको प्रभाव बिहीबार बेलुकादेखि शनिवारसम्म रहनेछ, यद्यपि यसको गति र तीव्रता अनुसार वर्षाको मात्रा परिवर्तन हुन सक्ने पनि विभागको भनाई छ।
पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी च्याप्टरका पूर्व अध्यक्ष समेत रहेका पदयात्रा व्यवसायी सोमबहादुर थापाका अनुसार सेप्टेम्बरपछि खासगरि वर्षा र हिमपातका यस्ता घटना यो बेला निकै नै कम हुने गरेका थिए।
‘कहिलेकाहीँ आक्कलझुक्कल वर्षा भए पनि हिमपात र हिम आँधीको त्रास यो बेला खासै हुने गरेको थिएन। तर, यो पटक त हामीले दोहोर्याई दोहोर्याई मार खेप्नुपरेको छ,’ थापाले भने, ‘हिमपात र वर्षादका लागि कुनै सिजन नै भन्ने यकिन भएन। कुनै पनि बेला हिमपात र वर्षा हुने अवस्था यो पटक सिर्जना भयो।’
सिजनको सुरुवात देखि नै यो पटक मार खेपेको पर्यटन क्षेत्रले एकै सिजनमा ४÷५ वटा विपद्को सामना गर्नुपरेको उनले सुनाए।
‘यो पटक त तालिका भन्दा बाहिर गएर विपद्का घटना भएका छन् । यति बेला पनि पर्यटन क्षेत्रले नोक्सानी खेपिसकेको छ। मानवीय र भौतिक क्षति भन्दा यति बेला आर्थिक क्षति बेहोरिसकेका छौँ,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्वअध्यक्ष समेत रहेका थापाले भने, ‘अझै केही दिन त्रास छ। सरकारले पनि सचेत गराइसकेको छ।’
उनका अनुसार यति बेलाको त्रासले पाहुनाको पदयात्रा रोकिएको छ। हिमाली क्षेत्रमा जाने पाहुना अहिले सहरमै रोकिएका छन्। पदयात्रा थालिसकेका पाहुना पनि बिचबाटै फर्किन थालेका छन्। केहीले यात्रा नै रद्द गरिसकेका छन्।
प्रकाशित: १२ कार्तिक २०८३ १८:०८ बिहीबार





