१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा

इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ। मानव अधिकारका लागि गाजा केन्द्रका अनुसार आवास र आश्रयका लागि प्रयोग गर्न सकिने क्षेत्र गाजाको कुल भूभागको करिब १५ प्रतिशतमा खुम्चिएको छ। 

केन्द्रका अनुसार इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको सीमा पश्चिमतर्फ बढाउँदै लगेको छ। साथै, गोलाबारी गर्ने, गोली चलाउने र भवन तथा संरचना भत्काउने कार्यले प्यालेस्टिनीहरूलाई बाक्लो बस्ती भएका क्षेत्रबाट विस्थापित हुन बाध्य बनाइरहेको छ। 

गाजाको कुल क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ । केन्द्रका अनुसार ध्वस्त भएका क्षेत्र र आधारभूत सेवाको अभावलाई समेत विचार गर्दा आवास तथा आश्रयका लागि उपलब्ध जमिन निकै सीमित भएको छ। पटकपटकको विस्थापन, आश्रयको अभाव र पुनर्निर्माणमा लगाइएको प्रतिबन्धले नागरिकको कठिनाइ बढाएको तथा उनीहरूलाई सुरक्षित रूपमा घर फर्कन अवरोध पुगेको केन्द्रले जनाएको छ। 

केन्द्रले यी गतिविधिले चौथो जेनेभा महासन्धिको धारा ४९ उल्लङ्घनसम्बन्धी चिन्ता उत्पन्न गरेको बताएको छ। उक्त धाराले सीमित परिस्थितिबाहेक कब्जा गरिएको क्षेत्रका संरक्षित व्यक्तिलाई जबर्जस्ती स्थानान्तरण गर्न निषेध गर्छ। 

केन्द्रले युद्धविराम कायम गराउन भूमिका खेलेका अमेरिका, इजिप्ट, कतार र टर्कीलाई इजरायली सेनाले आफ्नो नियन्त्रणमा लिएको क्षेत्र थप विस्तार गर्न रोक्न, नागरिकको सुरक्षा गर्न र गाजाको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ। साथै, विस्थापित प्यालेस्टिनीलाई सुरक्षित र स्वेच्छाले आफ्नो घर फर्कन सक्ने अवस्था सुनिश्चित गर्न पनि उसले आह्वान गरेको छ।    

प्रकाशित: १२ कार्तिक २०८३ १७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App