९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

दसैँ सकिएलगत्तै दैनिक काठमाडौं उपत्यका भित्रिने नागरिकको सङ्ख्या उच्च

फाइल तस्बिर

दसैँ सकिएसँगै पछिल्ला दिनमा काठमाडौं उपत्यका भित्रिने सवारीसाधन र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ। दसैँ मनाउन आआफ्ना गाउँघर गएका नागरिक अहिले पुनः काठमाडौं उपत्यका फर्किन थालेपछि यहाँका प्रमुख नाका र सडकमा यात्रु तथा सवारीसाधनको सङ्ख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दसैँको भोलिपाल्ट अर्थात् यही असोज १७ गतेदेखि हिजो बुधबार साँझसम्म काठमाडौं उपत्यकामा एक लाख ५५ हजार ६९७ जना भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले भने, 'दसैँ सकिएको र बाढीपहिरो तथा वर्षात्ले अवरुद्ध राजमार्ग पनि सञ्चालन भएका छन्। राजमार्गहरूमा सवारीसाधनको सङ्ख्या पनि बाक्लिँदै गएको छ।'

दसैँको भोलिपल्ट अर्थात् असोज १७ गते ११ हजार ९५५ जना, १८ गते दुई हजार ६४८ जना, १९ गते १६ हजार ६९४ जना, २० गते ४० हजार ८७७ जना, २१ गते ६७ हजार ६९२ जना, २२ गते १५ हजार ८३१ जना गरी कुल एक लाख ५५ हजार ६९७ जना उपत्यका भित्रिएका प्रवक्ता सुवेदीले बताए।

उनका अनुसार दसैँका लागि भन्दै काठमाडौं उपत्यकाबाट आठ लाख ६८ हजार ७२ जना बाहिरिएका छन्। हिजोआज काठमाडौं प्रवेश गर्ने नाकाहरू विशेषगरी नागढुङ्गा, फर्पिङ, साँगाचोक, बलम्बु, जगातिलगायत स्थानमा दैनिक हजारौँको सङ्ख्यामा यात्रु तथा सयौँको सङ्ख्यामा सवारीसाधन उपत्यका भित्रिने र बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ।

दसैँ मनाएर फर्किनेमध्ये प्रायः रोजगारी, अध्ययन वा व्यापारका सिलसिलामा राजधानी फर्किने रहेका प्रहरीले जनाएको छ। दसैँको बिदापछि अहिले काठमाडौंको जनजीवन पुनः सक्रिय भएको छ। मन्त्राललय, कार्यालय, पसल तथा अन्य सङ्घसंस्था क्रमशः सञ्चालनमा आएका छन्। रासस

प्रकाशित: २४ आश्विन २०८२ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App