१९ कार्तिक २०८२ बुधबार
image/svg+xml ०:१५ पूर्वाह्न
समाज

ज्येष्ठ र अशक्त नागरिकलाई पालिकाकै खर्चमा सदरमुकाम लगेर राष्ट्रिय परिचयपत्र

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले राष्ट्रिय परिचयपत्र बनाउन बाँकी पालिकाका ज्येष्ठ नागरिक र शारीरिक रूपमा अशक्त नागरिकलाई पालिकाकै खर्चमा सदरमुकाम लगेर परिचयपत्र बनाउन थालेको छ। 

पालिकाले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ सार्वजनिक सुनुवाइका क्रममा नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन समस्या झेलिरहेका नागरिकका लागि पालिकाले सहजीकरण गर्नुपर्ने माग गरेका थिए। सोही मागको सम्बोधन गर्दै पालिकाले राष्ट्रिय परिचयपत्र बनाउन बाँकी पालिकाका ज्येष्ठ नागरिक र शारीरिक रूपमा अशक्त नागरिकलाई पालिकाकै खर्चमा सदरमुकाम फुङलिङ लगेर राष्ट्रिय परिचयपत्र बनाउन थालिएको पालिकाले जनाएको छ। 

पालिका अध्यक्ष केशरकुमार सुब्बाले नागरिकको माग र पालिकाको योजना तथा कार्यक्रमअनुसार राष्ट्रिय परिचयपत्र बनाउन बाँकी पालिकाका ज्येष्ठ नागरिक र शारीरिक रूपमा अशक्त नागरिकलाई सदरमुकाम लगी परिचयपत्र बनाउन सहजीकरण गर्न थालिएको जानकारी दिए। वडा नं २ थेचम्बुका नागरिकबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्यको सहजीकरण गर्न थालिएको छ। 

पालिका उपाध्यक्ष रनमाया गुरुङका अनुसार पालिकाका ६ वटै वडाका राष्ट्रिय परिचयपत्र बनाउन बाँकी पालिकाका ज्येष्ठ नागरिक र शारीरिक रूपमा अशक्त नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन पालिकाले चालु आवमा बजेट राखेको छ। पालिकाले सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा परिचयपत्र बनाउन बाँकी रहेका लक्षित समूहका व्यक्तिको पहिचान गरी पालिकाकै खर्चमा सवारी साधनको प्रबन्ध गरी सदरमुकाम फुङलिङमा लगेर परिचयपत्र बनाइदिने कार्यको सहजीकरण गर्ने प्रबन्ध गरेको छ। 

पालिकाका नागरिकले सार्वजनिक सुनुवाइका क्रममा पालिकाको केन्द्र थेचम्बु पुगेका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई राष्ट्रिय परिचयपत्र बनाउने कार्यका लागि घुम्ती शिविरको माग गरेका थिए। 

प्रमुख जिल्ला अधिकारी शर्माले सम्बन्धित व्यक्तिको बायोमेट्रिकसमेत लिनुपर्ने भएकोले राष्ट्रिय परिचयपत्रका लागि तत्कालै घुम्ती शिविर राख्न नसकिने जवाफ दिएपछि पालिकाले सदरमुकाम फुङलिङ पुगेर परिचयपत्र बनाउनका लागि आउने-जाने खर्चको प्रबन्ध पालिकाबाट गर्दै ज्येष्ठ नागरिक र शारीरिक रूपमा अशक्त नागरिकको राष्ट्रिय परिचयपत्रका लागि बजेटको प्रबन्ध गरी उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउन थालेको छ। पालिका अध्यक्ष सुब्बाले पालिकाका ६ वटै वडाका लक्षित समूहका नागरिकले उक्त सेवा पाउनेमा ढुक्क रहन नागरिकलाई आग्रह गरेका छन्। 

प्रकाशित: ११ श्रावण २०८२ १५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App