कपिलवस्तु अदालतमा एक वर्षमा २ हजार ९०७ मुद्दा फर्छ्यौट गरिएका छन् । गत आर्थिक बर्ष २०८१/०८२ मा कुल मुद्दाको ६५ दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको हो । जुन पछिल्लो ५ वर्ष यता कै सबै भन्दा बढी प्रतिशत मुद्दा फर्छ्यौट हो ।
गत आर्थिक वर्ष अघिल्लो आर्थिक बर्ष जिम्मेवारी सरेर आएको र नयाँ दर्ता मुद्दा गरी कुल ४ हजार ४१६ मुद्दा दर्ता भएको थियो । अघिल्लो आर्थिक वर्षको १ हजार ८५० मुद्दा जिम्मेवारी सरेर आएको थियो । यस्तै गत आर्थिक बर्ष २ हजार ५ सय ६६ मुद्दा दर्ता भई कुल ४ हजार ४१६ मुद्दा थियो । कुल मुद्दा मध्ये ६५ दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट भएको अदालतका श्रेस्तेदार कमल कुमार आचार्यले बताए । १ हजार ५०९ मुद्दा चालु आर्थिक बर्षका लागि जिम्मेवारी सरेर आएको छ ।
गत आर्थिक वर्ष २ हजार ७४० नयाँ मुद्दा दर्ता हुने र वार्षिक लगत ४ हजार ५९० हुने अनुमान गरिएको थियो । ३ हजार ६० मुद्दा फर्छ्यौट हुने अनुमान गरिएकोमा लक्ष्यको ९५ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको आचार्यले बताए । मुद्दा फर्छौटमा अदालतमा पछिल्लो ५ वर्षमा उल्लेखनीय सुधार भएको उनले बताए । आर्थिक बर्ष २०८०/०८१ मा ६० दशमलव ४३ प्रतिशत मात्र मुद्दा फर्छ्यौट भएको थियो । देवानी मुद्दामा जिम्मेवारी सरेर आएको र नयाँ दर्ता गरी कुल २ हजार २०९ मुद्दा फर्छ्यौट भएको र १ हजार ३० जिम्मेवारी सरेको छ ।
सरकारवादी फौजदारीमा जिम्मेवारी सरेर आएको र नयाँ दर्ता गरी ५ सय ९८ लगत रहेकोमा ४ सय ४२ फर्छ्यौट भएको र १ सय ५६ जिम्मेवारी सरेको छ । व्यक्तिवादी फौजदारीमा जिम्मेवारी सरेर आएको र नयाँ दर्ता गरी ८ सय ५५ लगत रहेकोमा ५ सय ४६ फर्छ्यौट भएको र ३ सय ९ जिम्मेवारी सरेको छ । देवानीमा पुनरावेदनमा ६ मध्ये ५ फर्छ्यौट भएको र एक बाकी रहेको छ । सरकारवादी फौजदारी पुनरावेदनमा कुल ५ मध्ये ४ फर्छ्यौट र रिट ४३ मध्ये ३१ फर्छ्यौट भएको र १२ जिम्मेवारी सरेको छ ।
सबै भन्दा बढी अंश सम्बन्धी मुद्दा जिम्मेवारी सरेर आएको ४ सय ३५ र नयाँ दर्ता भएको ४ सय ८८ गरी कुल ९ सय २३ मध्ये ५ सय ८२ मुद्दाको फर्छ्यौट भई ३ सय ४१ जिम्मेवारी सेरेको छ । जिम्मेवारी सरेर आएको र नयाँ दर्ता गरी ४ सय ९३ सम्बन्ध बिच्छेदका मुद्दा मध्ये ३ सय ८२ फर्छ्यौट भई १ सय ११ जिम्मेवारी सरेको छ । जग्गा किचलोमा जिम्मेवारी सरेर आएको र नयाँ दर्ता गरी कुल ३ सय ३० मुद्दा मध्ये २ सय ४ फर्छ्यौट भई १ सय २६ जिम्मेवारी सेरेको छ । लागु औषध सम्बन्धी कुल ८८ मध्ये ७४ फर्छ्यौट भई १४ जिम्मेवारी सरेको छ ।
उता फैसला कार्यान्वयन निवेदन तर्फ कुल १ हजार ५९८ लगत रहेकोमा ७ सय ५० फर्छ्यौट भएको र ८ सय ४८ बाकी रहेको अदालतको तथ्याङ्कमा छ । बिगो भराउने, चलन चलाउने, बण्डा छुट्टाउने, क्षतिपूर्ति भराउने, माना चामल भराउने, अदालती शुल्क भराउने फैसला कार्यान्वयनका निवेदन आएका हुन । यस्तै ५ हजार ८१२ बर्ष १० महिना २० दिनको कैद मध्ये १ हजार ४ सय १६ बर्ष ९ महिना १९ दिनको कैद फर्छ्यौट भएको छ । ४ हजार ३ सय ९६ बर्ष १ महिना ३ दिनको कैद बाकी रहेको छ । ९९ करोड ८८ लाख १२ हजार ५ सय ४ रुपैयाँ ८५ पैसा जरिवाना असुल्न बाकी रहेकामा १ करोड ८४ लाख १५ हजार २४० रुपैयाँ १३ पैसा असुली भएको र ९८ करोड ३ लाख ९७ हजार २६४ रुपैयाँ ७२ पैसा जरिवाना अझै उठ्न बाकी छ । अदालतमा ६ न्यायधिशले मुद्दाको फैसला गरेका हुन ।
प्रकाशित: १ श्रावण २०८२ १८:३९ बिहीबार