३ चैत्र २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

तिज चेली र माइतीबिचको आत्मीयताको पर्व : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तिज पर्वले महिलामाथि हुने विभेद, हिंसा र कुरीतिहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्ने प्रेरणा दिने बताएकी छन्।

हरितालिका तिज पर्व २०८२ का अवसरमा सामाजिक सञ्जालमार्फत उनले जारी गरेको शुभकामना सन्देशमा सबै दिदीबहिनीलाई शुभकामना व्यक्त गर्दै तिजले सामाजिक–सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरेकी छन्। उनले सन्देशमा तिजले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँच र सशक्तीकरणलाई प्रोत्साहित गर्छ भनेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा तिज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको उल्लेख गरेकी छन्। उनले विवाहित महिलाले आफ्ना जीवनसाथी तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै व्रत बस्ने धार्मिक आस्था यस पर्वसँग गहिरो रूपमा जोडिएको छ भनेकी छन्।

‘विवाहपश्चात् महिलाले जन्मघर छाडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तिजलाई लिइन्छ’, उनले सन्देशमा भनेकी छन्, ‘यस पर्वले चेली र माइतीबिचको आत्मीयता, परिवार र साथी–सँगीबिचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।’

उनले तिज पर्वलाई लैंगिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने बताएकी छन्। उनले शुभकामना सन्देशमा उल्लेख गरेकी छन्, ‘पछिल्ला वर्षहरूमा तिज पर्व मनाउने क्रममा देखिएको केही भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय बनेको छ। तसर्थ, हामी सबैले यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यहरूलाई संरक्षण गर्दै, समाजमा देखिने विकृति र विसंगतिलाई हटाउन प्रयास गर्नु आवश्यक छ।’

प्रकाशित: १० भाद्र २०८२ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App