१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

तराईबासीले ‘अभिमन्यु’ चलचित्रलाई स्वागत गर्दै

फरक शैलीमा आएको भोजपुरी फ्ल्लेबरको गीत ‘लड्की गोरी’ ले चलचित्र ‘अभिमन्यु: च्याप्टर-१’  को हाइप बढाएको छ। सुरुमा एआई निर्मित भिडियोबाट प्रचार गरिएको सिनेमाको अहिले कन्टेन्ट बाहिर आएका छन्।

यसै क्रममा एक साता अगाडि रिलिज भएको गीत ‘लड्की गोरी’ ले मधेस र मधेसीको चित्रण गर्दै सिनेमाको हाइप बढाएको छ। ११ लाख भ्युज पाइसकेको यो गीतले प्रतिक्रिया पनि राम्रो पाइरहेको छ।

“म खासै भोजपुरी गीत सुन्दिनँ तर यो अलि रिफ्रेसिङ रहेछ। मजा आयो। प्रेरणा सिंह र प्रशान्त सिवाकोटीको आवाज साह्रै मिठो। किरण श्रेष्ठको डान्स राम्रो,” तृष्णा घतानीले युट्युमा गीत हेरेर लेखेकी छन्।

भोजपुरी फ्लेबर भए पनि गीत नेपालीमा छ। भोजपुरी लवजमा रहेको गीतको भिडियो भने टिपिकल भोजपुरीमा छ। बजारमा आइरहेकाे भन्दा बिलकुल फरक रहेकाले यसैलाई दर्शकले मन पराइरहेका छन्।

भोजपुरी गीत भन्नबित्तिकै अलि छाडा हुन्छन्। तर, ‘लड्की गोरी त्यस्तो छैन। यसको पनि तारिफ भइरहेको छ। जीवन मल्ल गीत र भिडियो हेरेपछि कमेन्ट गर्छन्, “यो डान्स र अडियो बबाल छ। निड मोर एप्रिसिएसन। छाडा छैन, रमाइलो छ।”

पछिल्लो समयको ट्रेन्ड हेर्ने हो भने डान्सिङ प्याटर्नका गीत चलिरहेका छन्। यो फूल डान्सिङ नम्बरमा छ, त्यसैले यो गीत दर्शकले मन पराइरहेका छन्। पछिल्लो समय सिनेमा प्रचारको अचुक अस्त्र नै गीत बनिरहेका छन्। यो गीत दर्शकले मन पराउँदा चलचित्र ‘अभिमन्यु’ लाई फाइदा भइरहेको छ। त्यसैले यो सिनेमा पनि हिट हुनेमा नन्दु गैरे ढुक्क छन्, “यो गीत हिट भयो भने यो फिल्म पनि हिट हुन्छ ढुक्क हुनुहोला,” उनले लेखेका छन्।

नेपाली चलचित्रले तराईबासीलाई उपेक्षा गरेको आरोप लाग्दै आएको छ। तराईको कथा नआउने र आए पनि मजाक बनाउने गरेको लेखक, निर्माता र निर्देशकलाई आरोप लाग्दै आएको छ।

यसबाट ‘अभिमन्यु’ मुक्त रहेको अनुमान लगाउन सकिन्छ। कन्टेनमा देखिने गरेको मोरङ र तराई भूभाग, मुख्य कलाकार तराईबासी नै भएकाले तराईको कथा यो चलचित्रले उठान गरेको संकेत छ।

“यो गीतले गर्दा तराईबासी पनि चलचित्रमा जोडिनसक्ने सम्भावना हुन्छ। निकै नयाँपन अनि मिठो छ,” धनबहादुर कनुवारले लेखेका छन्। तराईको कथा र पात्रलाई सिनेमामा मजाकको पात्र बनाउने गरिएकाले प्राय: मधेसी बाहुल्य रहेका क्षेत्रमा नेपाली चलचित्र चल्दैनन्। तर, यो चलचित्र चल्ने र त्यहाँका दर्शकले खुला मनले स्वागत गर्न सक्ने सम्भावना देखिएको छ।

चलचित्र ‘अभिमन्यु: च्याप्टर-१’ भदौ २७ गते रिलिज हुँदैछ। यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ। हिन्दी भर्सन पनि वर्ल्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले बताए।

चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ।

पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु: च्याप्टर-१’ को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला छन्।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु: च्याप्टर-१’ लाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्।

‘अभिमन्यु: च्याप्टर-१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन्। ‘अभिमन्यु’ मा शरद महतोको डिओपी रहेको छ।

प्रकाशित: १० भाद्र २०८२ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App