१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

चितवनमा भेटिएका ३४८ शवमध्ये १२९ जनाको लिङ्ग पहिचान हुन सकेन

रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका ३३५ वटा शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको मंगलबार रातिसम्म व्यवस्थापन गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषन यादवका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ।

जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए संकलन गरेर शनिबारदेखि जंगलमा लगेर खाडलमुनी गाड्न थालिएको हो। प्रहरीले शनिबार ९६ वटा शवको व्यवस्थापन गरेको थियो।

दोस्रो दिन आइतबार एक सय तीन, सोमबार ८१ र चौथो दिन मंगलबार ५५ वटा शव खाडल खनेर जमिनमुनी राखिएको छ। जमिनमुनी व्यवस्थापन गरिएका मध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका एक सय २९ वटा शव रहेका छन्। त्यस्तै पुरुष एक सय सात र महिला ७३, बालिका १५ र बालक ११ जना रहेको प्रहरीले जानकारी दिएको छ।

शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले बताए। सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन्।

केही शव आफन्तले पहिचान गरेपनि गाडिसकेका कारण शवहरु लान पाएका छैनन्। कति आफन्तले शव पहिचान गरेपनि लान नपाएको गुनासो गरेका छन्। अहिले चितवनमा आफन्तले डिएनएको लागि नमुना दिन थालेका छन्।

नदी किनारमा शव फेला पर्ने क्रम जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ।

सोमबार मात्रै चितवनमा ४९ वटा शव फेला परेका छन्। अहिलेसम्म हालसम्म ३४८ वटा शव फेला परेका छन्। त्यसमध्ये पहिचान नखुलेका एक सय २९ छन्।

भरतपुर अस्पतालमा एक जनाको शव रहेको छ। सनाखत हुनेमा ११ पुरुष र एक जना बालिका रहेका छन्।

प्रकाशित: १६ भाद्र २०८३ २१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App