१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

रसुवा बाढी: जुम्लामा फोनको घण्टी बज्दा पनि अत्तालिन्छन् परिवारका आँखाहरू

जुम्लाको चन्दननाथ नगरपालिका-१० बोहोरा गाउँका शारदाप्रसाद देवकोटाका आँखा विगत सात दिनदेखि घरको मूल ढोकाबाट एकछिन पछि हटेका छैनन्।

कुनै नौलो मान्छे आँगनमा आइपुग्दा वा मोबाइलको घण्टी बज्दा उनको मुटु यसरी धड्किन्छ, मानौँ कतैबाट हराइरहेका कान्छा भाइको खबर आइपुग्यो। तर, समय बित्दै जाँदा रसुवाको भोटेकोशी बाढीमा हराएका ५१ वर्षीय भाइ भानु देवकोटाको कुनै अत्तोपत्तो छैन।

तीन भाइमध्ये कान्छा भानु गोसाइँकुण्ड हुँदै मानसरोवरको धार्मिक यात्रामा निस्किएका थिए। घरको कान्छो सदस्य नै सीमाक्षेत्रको महाविपत्तिमा परेर सम्पर्कविहीन भएपछि जेठा शारदाप्रसाद र माइला भाइ हरिप्रसाद देवकोटा यतिबेला गहिरो छटपटी र अनिश्चितताको पीडामा बाँचिरहेका छन्।

भानुकी भतिजी मिना देवकोटाका अनुसार परिवारका सबै सदस्य र आफन्तहरू अहिले उनकै खोजीमा भौंतारिरहेका छन्। ‘गत भदौ ९ गतेसम्म अन्टी बिमा रोकाया (देवकोटा) सँग अंकलको नियमित फोन कुराकानी भइरहेको थियो,‘ मिनाले भक्कानिँदै भनिन्, ‘बाढी आएको दिनदेखि फोन लाग्न छाड्यो। अब त दिन बित्दै जाँदा उहाँ सकुशल सम्पर्कमा आउनुहोला भन्ने आशा पनि क्षीण बन्दै गएको छ।’

मिनाका अनुसार भानु आध्यात्मिक गुरु सदगुरुको तीर्थयात्री टोलीसँगै यात्रामा निस्किएका थिए। रसुवागढी नाकाबाट हेलिकप्टरमार्फत अन्य तीर्थयात्रीहरूलाई दुई टिप गरेर मानसरोवरातर्फ पठाइसकेपछि आफू अन्तिम उडानमा जाने तयारीमा उनी सीमा नजिकै रोकिएका थिए। तर, उनी सवार हुने पालो नआउँदै माथिबाट लेदो र ढुङ्गासहितको प्रलयंकारी बाढी उर्लियो।

नेपाल-चीन सीमाको मितेरी पुल नजिकैबाट सम्पर्कविहीन भएका भानुका एक छोरा आयुस उच्च शिक्षाका लागि अस्ट्रेलियामा छन् भने छोरी आयुसिका चितवनमा एमबीबीएस अध्ययनरत छिन्। बुवा बेपत्ता भएको खबरपछि आफन्तहरू चितवन, पोखरा हुँदै रसुवाका अस्पताल तथा शवगृहहरूसम्म पुगे पनि हालसम्म उनको कुनै पत्तो लाग्न सकेको छैन।

यति हुँदाहुँदै पनि परिवारले बाँच्ने झिनो आशा पूर्ण रूपमा मारेको छैन। ‘सरकारले सबैतिर उद्धार गरिरहेको छ, कतै घाइते भएर ओत लागेर बसेको अवस्थामा छोरो भेटिन्छ कि भन्ने आश अझै मनमा छ,’ परिवारका वृद्ध सदस्यहरू भन्छन्।

पातारासीको तल्लो लोर्पा : युवा हराएपछि रित्तिएका बस्ती

भोटेकोशीको बाढीले चन्दननाथको देवकोटा परिवारको मात्र होइन, जुम्लाकै पातारासी गाउँपालिका-५ तल्लो लोर्पा गाउँका दर्जनौं विपन्न परिवारको निद्रासमेत खोसिदिएको छ।

लोर्पा गाउँका अनमोल बुढा आफ्ना जेठा दाजु रुबिन बुढाको बाटो हेरेर बसिरहेका छन्। वैदेशिक रोजगारीको सपना बोकेर रसुवाको जलविद्युत् आयोजनामा मजदुरी गर्न पुगेका रुबिन पनि बाढी आएको दिनदेखि सम्पर्कविहीन छन्।

‘विपद् आउनुभन्दा ठीक एक दिनअघिसम्म दाइसँग राम्ररी कुरा भएको थियो,’ अनमोलले मलिन अनुहार लगाउँदै भने, ‘दाइले केही महिना काम गरेर पैसा कमाएछि भिसा लगाएर विदेश जाने योजना बनाउनुभएको थियो। सात जनाको हाम्रो परिवारको सिङ्गो भविष्य र सपना दाइसँगै जोडिएको थियो।’

घरमा एक भतिजी, एक भतिजा र भाउजू आँसुमा डुबेका छन्। ‘हामीले अझै आशा मारेका छैनौं, दाइ कतैबाट फर्केर आउनुहुन्छ कि भनेर बाटो कुरिरहेका छौं,’ अनमोलले भने।

लोर्पा गाउँकै अर्का युवा हेमन्त बुढाको अवस्था पनि अहिलेसम्म अज्ञात छ। उनका ससुरा धर्मराज बुढा दिनरात ज्वाइँको पर्खाइमा छटपटाइरहेका छन्। बाढी आउनुअघिसम्म दैनिक घरमा फोन गरेर परिवारको हालखबर सोध्ने हेमन्तको मोबाइल अहिले लगातार ‘स्वीच अफ’ छ। आँखामा आँसु लिएर परिवारका सदस्यहरू अपरिचित नम्बरबाट आउने हरेक फोन कलमा आशाको झिल्को खोजिरहेका छन्।

‘हाम्रा दाजुभाइको कि सास चाहियो कि लास’

लोर्पा गाउँकी स्थानीय धनरुपा बुढाका अनुसार गाउँका धेरैजसो कमाउने युवाहरू बाढी प्रभावित क्षेत्रमै परेकाले पूरै गाउँ यतिबेला शोक र सन्नाटामा डुबेको छ।

‘गाउँका बिचरा कलिला कलिला युवाहरू रोजगारी नपाएर उतै काम गर्न गएका थिए, आज घरमा बूढा बा-आमा र साना छोराछोरीको बिचल्ली भएको छ,’ धनरुपाले आक्रोश र पीडा मिसाउँदै भनिन्, ‘यो सबै हाम्रो देशको बेरोजगारीको मार हो। जलविद्युत् आयोजनाका क्याम्प नै बाढीले बगाएर बगर बनाइसकेपछि अब मान्छे फर्किने आशा पनि मर्‍यो। अब सरकारले हाम्रा दाजुभाइको कि सास खोजेर दिनुपर्‍यो कि लास बुझाउनुपर्‍यो।’

गाउँमा कसैका श्रीमान्, कसैका दाइभाइ त कसैका छोराहरू हराइरहेका छन्। सामान्य दिनचर्या पूरै ठप्प बनेको छ। परिवारका सदस्यहरू मोबाइल हातमा समातेर मौन बस्छन्। कुनै पनि नौलो नम्बरको घण्टी बज्दा सबैका कान चनाखो हुन्छन्, तर अधिकांश समय त्यो निराशामा बदलिन्छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका जुम्लाका नागरिकमध्ये हालसम्म २८ जना मात्र परिवार तथा स्थानीय प्रशासनको सम्पर्कमा आएका छन्। अझै पनि जुम्ला जिल्लाका ७१ जना नागरिक पूर्ण रूपमा सम्पर्कविहीन अवस्थामा छन्।

आफ्ना प्रियजनको खोजीका लागि कर्णालीका यी दुर्गम गाउँहरूबाट आफन्तहरू काठमाडौं, रसुवा र पोखराका अस्पताल, प्रहरी कार्यालय र अस्थायी शवगृहहरूमा पुगेर डीएनए नमुना बुझाउँदै आफ्ना मान्छेको खबर पर्खिरहेका छन्।

प्रकाशित: १६ भाद्र २०८३ २१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App