२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

चुनावी नाराले नदेखेको पोखराको फोहोर

घोषणापत्रमा स्वच्छ पोखरा, तर, सडकभरि फोहोरको डंगुर

पोखरा न्यूरोडको मुख्य सडक किनारमा थुपारिएको फोहोर। सहरमा दुर्गन्ध फैलिन थालेको छ। तस्बिरः सन्तोष पोखरेल/नागरिक

चुनावमा मतदाता तान्नका लागि राजनीतिक दलले आकर्षक नारा घन्काएका छन  उम्मेदवारपिच्छे घोषणापत्र बनाएर मतदातालाई लोभ्याउने काम पनि यतिबेला उम्मेद्वारहरुले गरिरहेका छन। पर्यटकीय सहर पोखरालाई सफा, सुन्दर, हराभरा बनाउनमा लागिपर्ने सबैजसको दलका उम्मेदवारले मतदाता सामु वाचा पनि बाँधिरहेका छन।  

निर्वाचनमा होमिएका उम्मेदवारले पोखरालाई सुन्दर र सफा सहर बनाउने बाचा गरिरहँदा पोखरा सहरभित्रका मुख्य चोक र गल्ली तथा घरघरमा थुप्रिएको फोहोरको थुप्रोले सबैलाई गिज्याइँरहेको छ। निर्वाचनमा मतदातालाई तान्न आकर्षक नारा फलाक्ने दलका उम्मेदवाहरु अहिले पर्यटकीय सहरको सडकमा फोहोरको थुप्रो लाग्दा मुकदर्शक बनेका छन।  

एकमहिनाको अवरोधपछि माघ अन्तिममा पोखराको फोहोर एकपटकका लागि उठाईयो। तर, त्यसपछि फोहोर उठेको छैन । मुख्य सडक र चोकचोक देखि घरको कुनाकाप्चासम्म अहिले फोहोरको थुप्रो लागेको छ। पछिल्ला केहीदिनदेखि फाट्टफुट्ट पानी परेको पोखरामा त्यही फोहोर बगाएर सडकमा ल्याउने गरेको छ। गर्मी बढ्दै जाँदा अहिले थुप्रिएको फोहोरको दुर्गन्ध फैलिन थालेको छ। सडक किनारमा थुप्रिएको फोहोर बेलाबखत सडकमा छिरलिने गर्दा बिहानीपख झनै छरपष्ट हुने गरेको छ।  

बेलैमा फोहोर व्यस्थापनमा चुकेको पोखरा महानगरपालिका अहिले चुनावको मुखमा दलको असहयोगले गर्दा फोहोर उठ्न नसकेको गुनासो गरिरहेको छ। महानगरका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फोहोर बिसर्जनमा राजनीतिक दल र स्थानीयले दोहोरो व्यवहार देखाएको आरोप लगाएका छन। राजनीतिक दल र स्थानीयको दोहोरो व्यवहारका कारण फोहोर फ्याक्ने ठाउँको बारेमा निष्कर्षमा पुग्न नसकेको मेयर आचार्यको भनाई छ। पटकपटक लुडो खेलजस्तै अवस्था दोहोरिएको उनको भनाई छ।  

फोहोर व्यवस्थापनमा मेयर आचार्यको जस्तै गुनासो प्रवक्ता मोतिराज तिमिल्सेनाले पनि व्यक्त गरे। उनका अनुसार राजनीतिक दलको असहयोगका कारण फोहोर व्यवस्थापनमा सकस भएको हो। 

‘अहिलेसम्म फोहोर कहाँ व्यवस्थापन गर्ने भन्नेमा अझै टुंगो लागिसकेको छैन। चुनाव अघि फोहोर व्यवस्थापनको टुंगो लाग्ने अवस्था देखिन्न,’ उनले भने, ‘विभिन्न क्षेत्रबाट असहयोग भएको छ। राजनीतिक दलबाट सहयोग नभएसम्म फोहोर उठ्ने अवस्था रहन्न।’  

चुनावको मुखमा फोहोर व्यवस्थापनमा समन्वय गर्नुपर्ने दलले अहिले असहयोग गर्ने र पछि चुनाव जितेपछि फोहोर व्यवस्थापनमा सघाएको देखाउने चाहना राखेको उनले बताए। जर्बजस्ती फोहोर फाल्नका लागि दवाव दिने सवालमा दलहरुले जोखिम मोल्न नचाहेको पनि उनले बताए। ‘मतदाता भड्किने जोखिम रहेकोले अहिले नै दलहरुले जोखिम लिन चाहेनन,’ उनले भने, ‘सबै दलहरु जिम्मेवार बन्नुपर्नेमा असहयोग गरेका छन।’

दलको सहयोग र स्थानीयको साथबिना कुनैपनि ठाउँमा महानगरले जर्बजस्ती फोहोर फाल्न नसकेको उनले बताए। ‘अहिले फोहोरको प्रत्यक्ष असर जनतालाई परेको छ। महानगर यसबारेमा जानकार पनि छ। तर, सबैतिरको असहयोगले फोहोर उठ्न सकेको छैन। महानगर निरन्तर संवाद र प्रयासमा लागिपरेको छ,’ प्रवक्ता तिमिल्सेनाले भने, ‘स्थानीयसँग समन्वय गर्ने दलले हो। तर, त्यो हुन सकेन। बैठकमा प्रतिवद्धता जनाएपनि त्यस अनुसार साथ मिलेन।’

फोहोर व्यवस्थापन गर्ने ठाउँको विवाद बढ्दै जाँदा पोखराले लामो समयदेखि सहरको फोहोर व्यवस्थापन गर्न सकेको छैन। पोखरा महानगरले यसअघि पोखरा महानगरपालिका–३२ लामेआहालमा फोहोर व्यस्थापन गर्दै आएको थियो। तर, लामेआहालमा फोहोर व्यवस्थापन गरिरहेको ठाउँ भरिएपछि नयाँ ठाउँको खोजी गर्न थालेको थियो। निर्वाचनको मिति नजिकिएसँगै बजारभर फोहोरको थुप्रो लाग्दा महानगरको आलोचना भएको छ। घरघरमा थुप्रिएको फोहोरका कारण नागरिकहरु अत्तालिन थालेका छन।  

महानगरले लामेआहालमा फोहोर व्यवस्थापन गरिरहेको ठाउँ भरिएको र नयाँ ठाउँ नपाएकोले व्यवस्थापन गर्न नसकेको बताउँदै आएको छ। फोहोर व्यवस्थापनका लागि महानगरले विकल्प खोजिरहेको भएपनि नयाँ ठाउँबारे अझै यकिन भईसकेको छैन। पोखरा महानगरले फोहोर व्यवस्थापनको स्थायी समाधानका लागि तीनवर्षदेखि नै प्रयास थालेको भएपनि अहिलेसम्म टुंगो लगाएको छैन। 

फोहोर व्यवस्थापनको अभ्यास हेर्न विभिन्न सहरमा गएपनि पोखराको फोहोर स्थायी रुपमा कहाँ व्यवस्थापन गर्ने भनेर टुंगो भने लगाउन सकेको छैन। पछिल्लो समय मंसिर २ गते एक विदेशी कम्पनिसँग सम्झौता गरेर ६ महिना मित्र स्थायी प्रशोधन केन्द्र बनाउने प्रयास थालेको भएपनि जग्गा विवादका कारण त्यो योजना अघि बढ्न सकेको छैन।  

नागरिक समाज कास्कीका पूर्व संयोजक विष्णुहरी अधिकारी चुनावी मुद्दा बनाउनका लागि दलले पोखराको फोहोर व्यवस्थापनमा असहयोग गरेको बताउँछन। ‘स्थानीय स्तरमा राजनीति घुसेको छ। राजनीतिक दलले सहमति जनाउँछन, तर, सहमति अनुसार काम भएन,’ उनले भने, ‘महानगरको सबैभन्दा ठूलो कमजोरी छ। महानगरले साढे ३ वर्षसम्म काम गर्न सकेन। कुहिने, नकुहिने र बिक्री हुने खालको फोहोर व्यवस्थापनमा महानगर चुकेको हो।’

पोखराको फोहोर व्यवस्थापनका लागि स्थायी प्लान्ट आउँदैछ भनेर महानगरले सबैलाई आश्वस्त बनाएको तर, ल्याउन नसकेको उनले बताए।

‘फोहोर व्यवस्थापनमा चुकेपनि यो समस्या महानगरको मात्र समस्या होईन, समग्र पोखराको पनि हो। वडा कार्यालय समेत वडाभित्रको फोहोर व्यवस्थापन गर्न चुकेका छन,’ अधिकारीले भने, ‘राजनीतिक दल सहकार्य गर्न भन्दा पनि समस्या बल्झाउनेमा लागेका छन।’

चुनावको बेला सुन्दर, सफा र स्वच्छ पोखराबारे घोषणापत्रमा उल्लेख गर्ने, तर, काम नगर्ने परिपाटीका कारण समस्या बढेको उनले बताए। ‘विश्वासै गर्न नसकिने घोषणापत्र बनाएका दलले फोहोर व्यवस्थापन गर्न असहयोग गरेका छन। स्थानीय जनप्रतिनिधिसँग मिलेर काम गछु भन्नुपर्नेमा ठूला कुरा गरेका छन। तर घरको फोहोर व्यवस्थापनमा असहयोग गरेका छन,’ उनले भने।  

तत्काल फोहोर उठाउन नसक्ने हो भने अझै बढि दुर्गन्ध फैलने चिन्ता महानगरबासीको रहेको छ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने बेलामा पोखरा महानगरपालिकाले १४ नम्बर वडाको बाच्छेबुडुवास्थित पुरानो ल्याण्डफिलसाइट बन्द गरेर पोखरा–३२ को लामेआहालस्थित सेतीनदि किनारमा फोहोर व्यवस्थापन गर्न थालेको थियो।  

स्थानीयको विरोधका बाबजुत पनि महानगरले बढिमा ६ महिनाका लागि भन्दै त्यहाँ फोहोर खसाल्न थालेको थियो। तर, त्यो ठाउँ अहिले भरिएपछि नयाँ ठाउँ खोज्न महानगर बाध्य भएको हो। पोखरामा दिनमा १ सय ५० देखि २ सय टन फोहर उठ्छ। यसमा औद्योगिक क्षेत्र र अस्पतालको फोहोर पर्दैन। पोखराभित्रको फोहोर दिनहुँ २० वटा गाडीमार्फत उठाइन्छ। महानगरले विभिन्न ६ वटा निजी कम्पनिलाई फोहोर संकलन गर्ने जिम्मा दिएको छ। हरेक घरबाट शुल्क उठाएर ती कम्पनिले फोहोर संकलन गर्दै आएका छन्।  

प्रकाशित: १५ फाल्गुन २०८२ १८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App