हिमताल विस्फोटपछि रसुवागढी हुँदै बग्ने भोटेकोसी नदीमा मंगलबार बिहान बाढी आएको पुष्टि भएको छ। कपर्निकस डेटा स्पेस इकोसिस्टमको ‘सेन्टिनेल–२’ उपग्रहले खिचेका तस्बिरका आधारमा जल तथा मौसम विज्ञान विभाग र विश्वका अन्य वैज्ञानिकले छुट्टाछुट्टै रूपमा तयार गरेको प्रारम्भिक रिपोर्टले यस्तो देखाएको हो। यी रिपोर्ट बिहीबार सार्वजनिक गरिएका हुन्। रिपोर्टमा ‘हिमनदी (ग्लेसियर) को सतहमा बनेको ‘सुप्राग्लेसियल’ ताल फुट्दा बाढी आएको’ उल्लेख छ।
रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटर उत्तरमा रहेको प्युरेपु हिम नदीको सतहको झन्डै बिच भूभागमा विकास भएको सुप्राग्लेसियल ताल (हिमताल) विस्फोट हुनुअघि करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र विस्फोटपछि त्यो क्षेत्रफल घटेर करिब ०.६० वर्ग किलोमिटर भएको विभागले गरेको अध्ययनले देखाएको छ। ‘बाढी आउनुअघि र पछिका दुई तस्बिरको तुलनात्मक अध्ययनले तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएकोछ,’ विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रारम्भिक अध्ययनअनुसार उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तल्लो तटीय क्षेत्रमा परेको देखिएको छ। विभागले चीनबाट प्राप्त हुने थप स्थलगत प्रतिवेदन र आगामी दिनमा अन्य भूउपग्रहमार्फत प्राप्त हुने सक्ने थप तस्बिरले यसको ‘थप पुस्ट्याइँ’ हुने जनाएको छ। विभागले यो घटनाको निरन्तर अध्ययन गरी र अद्यावधिक जानकारी सार्वजनिक गर्ने पनि जनाएको छ।
यसैगरी अमेरिकाको युनिभर्सिटी अफ अलास्का फेयरबैंक्समा कार्यरत नेपाली वैज्ञानिक अमृत थापा, जल वैज्ञानिक ज्याकोप स्टेनर र चाइनिज एकेडेमी अफ साइन्सका हिमनदीविज्ञ छाओ लिउले पनि सेन्टिनेल–२ उपग्रहमार्फत उपलब्ध तस्बिरको समीक्षा गरेका थिए।
यी तीन वैज्ञानिकले गरेको ‘द्रुत जोखिम मूल्यांकन प्रतिवेदन’ मा सन् २०२५ को मार्च २५ देखि नै प्युरेपु हिमनदीको सतहमा पोखरीहरू विस्तार हुन थालेको र मेको मध्यसम्मे बढ्ने क्रम जारी रहेको उल्लेख छ। ‘त्यसपछि ६ जुनसम्म ती पोखरी तीव्र रूपमा विस्तार भए र २८ जुनमा क्षेत्रफल ५ लाख २५ हजार वर्गमिटर पुगेको थियो। ७ जुलाईमा ती पोखरीहरू आपसमा मिलेर ६ लाख ३८ हजार वर्गमिटरको ठुलो ताल बनेको थियो। ८ जुलाई (हिमताल विस्फोट भएको दिन) मा तालको क्षेत्रफल घटेर ४ लाख ३५ हजार वर्गमिटर कायम भएको थियो। ८ जुलाईमा पनि हिमनदीको सतहमा पानीको निकास देखिन्थ्यो, जसले कम्तीमा केही पानी सतहमा बनेका खोल्साबाटै बाहिरएको पुष्टि गर्छ,’ ती वैज्ञानिकले गरेको अध्ययन प्रतिवेदनमा लेखिएको छ।
‘जलवायु परिवर्तनका कारण हिमताल विस्फोट भएको सो क्षेत्रमा केही दशकयता निरन्तर रूपमा तापक्रम पनि वृद्धि हुँदै गएको देखिन्छ’, अध्ययन प्रतिवेदनमा भनिएको छ। ल्हेन्दे खोलाको जलाधारको उत्तरी क्षेत्र वरपरका हिमनदीको सतहमा यसअघि नै तालहरूको वृद्धि र दक्षिणतर्फका हिमनदीको सतहमा समेत पोखरीको संख्यामा वृद्धि भएको अन्य अध्ययनले समेत देखाएको प्रतिवेदनमा उल्लेख छ।
‘यस्ता हिमनदीको सतहमा बनेका साना पोखरीहरू अन्ततः हिमनदीको अग्रभागको माथिल्लो भागसम्म फैलिँदै आपसमा जोडिएर ठुलो तालमा परिणत हुने अनुमान यसअघि गरिएको थियो तर अहिलेको घटनामा देखिएको जस्तो यति तीव्र गतिमा होला भनेर ठानिएको थिएन,’ प्रतिवेदनमा लेखिएको छ।
‘हिमताल विस्फोट भएको क्षेत्रमा यसअघि पनि थुपै्र्र हिमताल विस्फोट भइसकेकाछन् र उक्त तालमा अझै धेरै पानी सञ्चित छ। त्यसैले सन् २०२५ (यो वर्ष) भित्रै विस्फोटको पुनरावृत्ति हुने सम्भावना छ’, प्रतिवेदनमा चेतावनी दिइएको छ। प्रतिवेदनमा हालसम्म उक्त क्षेत्रमा पूर्वसूचना प्रणाली स्थापना नगरिएको उल्लेख छ।
प्रकाशित: २७ असार २०८२ ०६:१९ शुक्रबार





