पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण अघि बढाइने भएको छ। खोलाको बहाव बढेर पुरानो शिकारीबास बस्ती कटान गर्न थालेपछि खोलामा तारजाली र बोरासहित तटबन्ध निर्माण गरेर कटान रोक्न लागिएको हो।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख एवं इञ्जिनियर राकेश साहले ठोरीको शिकारीबासमा डुवान र कटानको जोखिम बढेकाले कटान क्षेत्रमा रु १० लाखमा तटबन्धसहित झालीको व्यवस्था गर्न लागिएको जानकारी दिए।
‘शिकारी खोलाको कटानले बस्तीमा असर पार्न थालेको छ, त्यसैले तटबन्ध गर्न लागेका छौँ,’ उनले भने, ‘करिब रु १० लाख खर्चेर बस्ती जोगाउन यो पहल थालेका छौँ।’ उनको अनुसार यहाँ ७० परिवार बसोबास गर्छन्। यो बस्ती ठोरीको हुलाकी सडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्छ।
प्रकाशित: २८ असार २०८२ १२:१३ शनिबार





