जिल्ला प्रहरी कार्यालय उदयपुरका लागि सरुवा भएर रमाना लिइसकेका प्रहरी सहायक निरीक्षक (असई) मनिष देवानको ताप्लेजुङमा मृत्यु भएको छ।
मंगलबार राति एक्कासी बिरामी परेका देवानको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार इलामको माइजोगमाई गाउँपालिका–३ घर भएका देवान हाल सदरमुकाम फुङलिङस्थित वीरेन्द्रचोकमा डेरा गरी बस्दै आएका थिए।
गएराति डेरामा बसिरहेकै अवस्थामा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनसाथ चेकजाँचका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक देवानको केही समयअघि जिल्ला प्रहरी कार्यालय उदयपुर (कन्ट्रोल रुम) मा सरुवा भएको थियो। उनले गत मङ्सिर २३ गते नै ताप्लेजुङबाट रमाना बुझिसकेका थिए र कार्यक्षेत्रमा जाने तयारीमा थिए ।
देवानकी श्रीमती सन्तोषी थापा पनि प्रहरी सेवामै छिन्। उनी प्रहरी वरिष्ठ हवल्दारका रूपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखामा कार्यरत छिन्।
मृतक देवानको शव हाल ताप्लेजुङ जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित: ९ पुस २०८२ ११:२६ बुधबार





