चितवनका तीन स्थानीय तहमा रोपिएको धानमा डढुवा रोगको समस्या देखिएको छ। भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा यो समस्या देखिएको हो।
कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार हाल दैनिक पाँचदेखि सातजना किसान डढुवा रोगको समस्या लिएर आउँछन्। धानको पातको फेदमा डढुवासँगै पोटासको कमी, गभारो र मिलिबगजस्ता समस्या पनि देखिएको छ।
उनका अनुसार डढुवाले पातको फेदमा अण्डाकारको खैरो थोपा भएपछि आकार बढ्दै जान्छ र ढुसीको कालो गिर्खा देखापर्छ। बोटको माथिल्लो भागमा पनि पुग्छ र सुकेर डढेजस्तो देखिन्छ। यो रोगको लक्षण हो।
नाइट्रोजन मल सिफारिस गरिएको मात्रामा प्रयोग गर्ने, उन्नत जातको धान रोप्दा बोटको दूरी बढाउने, भेलिडामाइसिन प्रयोग गरेर यो रोगबाट बचाउन सकिन्छ। ढुसीनाशक विषादीको प्रयोगले पनि यो रोग नियन्त्रण गर्न सकिन्छ।
पश्चिम चितवनको बीउ उत्पादन गर्ने क्षेत्रमा रोपिएको धानमा पोटासको कमी देखिएको छ। बीउ उत्पादन गर्ने १० हेक्टर क्षेत्रमा पोटासको कमीले पात पहेँलिने, टुप्पा सुक्ने लक्षण देखिएको छ। यसले धानमा बाला नलाग्ने र उत्पादनमा कमी आउँछ।
धानमा गभारोको समस्या पनि उस्तै छ। वयस्क अवस्थामा विभिन्न आकार-प्रकारका पुतली धानमा लाग्छन्। तिनका लार्भा फिका पहेँला वा गुलाबी रङका हुन्छन्, जसमा धर्का हुन्छ। यी कीराले बिरुवाको डाँठभित्र रहन्छन् र बिरुवालाई प्रभाव पार्छन्।
यसले बिरुवा कलिलो अवस्थामा आक्रमण गरेमा मृत गावा देखिन्छ। बिरुवा फुल्ने अवस्थामा आक्रमण भएमा भुसमात्र भएको सेतो बाला देखिन्छ।
त्यस्तै, धानमा मिलिबग रोगको पनि सङ्क्रमण देखिएको छ। यो समस्या खाद्यतत्वको कमीले देखिन्छ। गत वर्षको तुलनामा यो वर्ष धेरै क्षेत्रमा यो समस्या देखिएको छ। समयमा पानी नपर्दा बुढो बेर्ना रोप्ने किसानका खेतमा यो समस्या देखिएको हो। यसले सानो बोटमा पस्छ र गाँज हाल्न सक्दैन।
यो समस्या समाधान गर्न खेतमा पानीको सतह बढाउने, खेतभित्र र वरिपरिका घाँसपात हटाउने, कीराको प्रकोप धेरै भएमा तुरुन्त नजिकको कृषि कार्यालयमा सम्पर्क गर्न उनले सुझाए। जिल्लामा यस वर्ष २७ हजार २ सय ७ हेक्टर क्षेत्रमा धान रोपिएको छ। रोग, किरा र बुढो बीउ रोप्नुपर्ने बाध्यताले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ। रासस
प्रकाशित: १२ भाद्र २०८२ १७:५९ बिहीबार





