पोखराबाट काठमाडौंका लागि छुटेको रात्री बस सोमबार बिहान करिब साढे १ बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौंडामा दुर्घटनामा पर्यो। उक्त दुर्घटनामा अहिलेसम्म १९ जनाले ज्यान गुमाएको प्रहरीले बताएको छ। ग २ ख १४२१ नम्बरको उक्त बस अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल त्रिशुली नदीको किनारमा खसेको प्रहरीले बताएको छ। दुर्घटनामा ज्यान गुमाउने मध्ये एकजना विदेशी नागरिक पनि छन।
पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष ऐनकुमार साइका अनुसार पोखराको राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्कबाट बस बेलुकी ७ बजे छुटेको थियो। बसमा ३५ जना यात्रुको नाममा सिट बुकिङ गरिएको थियो। साइका अनुसार ३५ सिट क्षमताको उक्त बसमा क्षमता अनुसार नै यात्रु सवार थिए। बसका चालक र सहचालक समेत गरि ३७ जना पोखराबाट हिडेका थिए। तर, तनहुँबाट बसका संचालक दम्पति पनि सोही बसमा चढेको उनले बताए।
‘पोखराबाट पूर्ण क्षमता अनुसारको यात्रु बोकेर बस छुटेको हो। तर, पछिल्लो जानकारीमा आए अनुसार बसमा ४४ जना यात्रु थिए। त्यसैले बीचमा यात्रु चढेको अनुमान छ,’ उनले भने, ‘३५ सिटको बस पोखराबाटै पूर्ण क्षमतामा रहेकोमा अरु यात्रु थपिएको पुष्टि हुन्छ। टिकट नै नलिएका यात्रु बीचबाट चढेकोले पनि पहिचानमा समस्या भएको हो।’ उनका अनुसार अझै पनि केही मृतक यात्रुको पहिचान खुलेको छैन।
मध्यरातमा भएको दुर्घटनापछि प्रहरी, सेना, सशस्त्र प्रहरी सहित स्थानीयहरु उद्धारमा खटिएका थिए। रातीको समयमा भएको दुर्घटनाका कारण उद्धारमा समेत केही समस्या भएको थियो। दुर्घटनाका २५ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ।
दुर्घटना लगत्तै स्थानीय अस्पतालमा घाइतेको उपचार गरिएको भएपनि पछि काठमाडौं पठाइएको थियो। बीचबाट चढेका यात्रुका लागि उक्त बसमा सिट नभएको पनि उनले बताए। ‘सिट अभाव हुँदाहुँदै यात्रा गर्न खोज्ने यात्रुमा पनि समस्या छ। त्यसबाहेक सिट नभएको अवस्थामा बसमा पनि यात्रु चढाउन खोज्ने यातायात व्यवासायीमा पनि केही समस्या छ। यस्ता दुर्घटनाका बेला समस्या पर्छ,’ उनले भने।
उनका अनुसार पछिल्लो समय बसका यात्रुले अनलाईनमार्फत टिकट बुकिङ गरेका हुन्छन। तर, पनि कतिपयले पुरा नाम समेत उल्लेख नगरि बसमा टिकट बुकिङ गर्ने गर्छन। हवाई यात्रामा जस्तो बसमा यात्रु पहिचान गर्न सहज नहुने उनले बताए।
‘हामीले यात्रुको पूर्ण विवरण उल्लेख गरेर टिकट जारी गरेर मात्र यात्रा गराउन भनेर कर्मचारीलाई निर्देशन दिएका हुन्छौ। तर, पनि भनेजस्तो हुदैन। जो कोहीले बुकिङ गरेर अरु चढ्न जाने हुन्छन। टिकटमा नाम र विवरण समेत पूर्ण रुपमा उल्लेख हुँदैन,’ उनले भने, ‘यात्रुको सनाखतमा यो पनि समस्या हुन्छ।’ साइले भने झैं सोमबार बिहान भएको उक्त दुर्घटनामा परेका यात्रु मध्ये केहीको नाम छोटकरीमा लेखिएको र कतिपयको नाम पनि उल्लेख गरिएकोथिएन। यसले गर्दा पहिचानमा समस्या भएको उनले बताए।
प्रकाशित: ११ फाल्गुन २०८२ १२:५६ सोमबार



-600x400.jpg)

