नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा सवैभन्दा महत्वपूर्ण राजनीतिक संस्कार र शैली बदलिनु आवश्यक भएको बताएका छन् । चुनाब भनेको विचार र व्यक्तित्वको महायज्ञ भएकाले गर्दा कसैलाई धारे हात लगाएर गाली गर्नु गलत भएको बताए ।
‘देश दुखेको बेला गाली होइन, प्रेम र सद्भाव कसरी सिर्जना गर्न सकिन्छ ?’ उपसभापति शर्माले मंगलबार सुनसरीको झुम्कामा आयोजित क्षेत्र नं. २ को आमसभालाई सम्बोधन गर्दै भने, ‘राजनीतिक संस्कार बद्ल्न अब प्रेमलाई सम्प्रेषण गर्नुपर्छ ।’
उनले आफूले मंगलबार सुनसरी र मोरङ्का विभिन्न सभामा सम्बोधन गर्दा प्रेम सम्प्रेषण गरेतापनि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेप्रति इंकित कोही अध्यक्ष आएर सम्बोधन गर्दा अरुलाई गाली गरेको शैलीलाई निकालेर मूल्यांकन गर्न आग्रह गरे ।
नेता शर्माले कांग्रेसले कांग्रेसमा उड्ने उडन्ते सपना नबाढ्ने जिकिर गरे । ‘कांग्रेसकै यही क्षेत्र (क्षेत्र नं. २ सुनसरी) को उम्मेदवारले पाँच वर्ष भित्र जे गर्न सक्नुहुन्छ, त्यही मात्रै वाचा गर्नुहुन्छ, नसक्ने कुरा गर्नुहुन्न्,’ उनले भने, ‘राजीव कोइरालाको वाचा अब हुने हुने प्रधानमन्त्री गगनकुमार थापाको पनि वाचा हो ।’ उनले पाँच वर्षपछि केही गर्न नै बाँकी नरहने गरि अरु दलका नेताले बोलेर अविश्वासिलो कुरा गर्दै हिडेको बताए ।
उनले कांग्रेस अब भाषण र आसन दुवै पक्षमा परिवर्तन आउने बताए । उनले देश चलाउन कुनै व्यक्तिले मात्र सम्भव नहुने बताए । ‘क्याप्टेनले मात्र कुनै युद्द जित्दैन,’ उनले भने, ‘देश चलाउन टीम चाहिन्छ,’ शर्माले भने, ‘सरकार र संसद दुवैमा पफ्रेक्ट टीम चाहिन्छ, त्यही सोचका साथ दस वर्षे भीजनका साथ कांग्रेस अघि बढेको छ । टीमले परिवर्तन ल्याउनेछ ।’
उनले कांग्रेसका नेता/कार्यकर्ता शान्त र संयमसँग चुनाबी अभियानमा हिड्न आग्रह गरे । उनले हरेक वडाका अगुवा नेतालाई आ आफ्नो वडा सम्हाल्न पनि निर्देशन दिए । आमसभामा नेपाली कांग्रेस क्षेत्र नं. २ का उम्मेदवार राजीव कोइरालाले आफू राजनीतिक यात्रामा जहिल्यै जनताकै हितमा लागेको र भविष्यमा पनि सधैंभरी जनताकै हितमा लागिरहने प्रतिबद्दता जनाए ।
प्रकाशित: १२ फाल्गुन २०८२ २०:०१ मंगलबार





