१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

जय ट्रफीः एपीएफविरुद्ध पुलिसको शानदार जित, ललितको धारिलो बलिङ

जय ट्रफी पुरुष एलिट कपमा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल एपीएफ क्लबमाथि ९ विकेटको शानदार जित निकाल्दै पुलिस क्लबले पहिलो अंक जोडेको हो।  

एपीएफले दिएको ११३ रनको सामान्य लक्ष्य पुलिसले एक विकेटको क्षतिमा पूरा गर्यो । उसको जितमा कुशल भुर्तेलले ५३ बलमा नटआउट ७१ र अमित श्रेष्ठले नटआउट ३२ रनको योगदान गरे। सोहिल कुक्वर ७ रनमा भुवन कार्कीको बलमा बोल्ड भए।  

यसअघि पहिलो इनिङ्समा १८५ रन बनाएको एपीएफले दोस्रोमा २०४ रन जोडेको थियो। उसका लागि दीपक बोहोराले ९४ रनको योगदान दिए । एपीएफले पहिलो इनिङ्समा १८५ रन बनाएको थियो।  

धारिलो बलिङ गरेका पुलिसका ललित राजवंशीले ५ विकेट लिए । कुशल भुर्तेलले ३ विकेट झार्दा सागर ढकाल र शंकर रानाको नाममा एकएक विकेट रह्यो ।  

यसअघि ५ विकेटको क्षतिमा १७९ रनबाट मंगलबार दोस्रो दिनको खेल थालेको पुलिसले ७ विकेटको क्षतिमा २७७ रनमा डिक्लियर गरेको थियो। पुलिसका लागि शंकर रानाले नटआउट १०५ रनको योगदान दिँदा दिल्साद अलीले ५८ र अमित श्रेष्ठले ५८ रन बनाए ।  

पहिलो इनिङ्समा ४ र दोस्रोमा ५ विकेट लिएका ललित राजवंशी म्यान अफ द म्याच भए।  

अर्को खेलमा भने बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबले अंक बाँडेका छन्। बागमतीले दिएको ११८ रनको मध्यम लक्ष्य पछ्याएको आर्मीले दिनको खेलको समाप्तिमा ४ विकेट गुमाएर ३९ रनमात्र बनाउन सक्यो। पाँचौ ओभरको खेलमा बागमतीका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएपछि आर्मी लक्ष्य भेट्टाउन असफल रह्यो ।  

आर्मीले पहिलो इनिङ्स ७ विकेटको क्षतिमा ३५२ रनमा डिक्लियर गरेको थियो। बागमतीले भने पहिलो इनिङ्स ७ विकेटको क्षतिमा २५९ रनमा र दोस्रो इनिङ्स ३ विकेटको क्षतिमा २१० रनमा डिक्लियर गरेको थियो।  

आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो भने बागमती एपीएफसँग पराजित भएको थियो। 

प्रकाशित: १२ फाल्गुन २०८२ २०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App