१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

आचारसंहिता विपरितको माईकिङले कास्कीमा बढ्यो ध्वनी प्रदूषण

निर्वाचन आयोगले उम्मेदवारको प्रचारमा माईकिङ गर्न निषेध गरेको छ, अर्थात् ध्वनी प्रदूषण गरेर माईकिङ गर्नु आचारसंहिता विपरित हो । तर कास्कीमा भने यस विपरित उम्मेदवारको प्रचार भइरहेको छ ।  

पुरानै शैलीमा माईकिङमार्फत् प्रचार गर्न दल र तिनका उम्मेदवारहरु होडबाजी गरिरहेका छन् । यसमा पुराना दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) वा नेपाली कम्युनिष्ट पार्टीमात्र होईन, नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा)सम्म तँछाडमछाड गरिरहेका छन् ।  

निर्वाचन आचारसंहिताको १३ (ड) मा भनिएको छ, ‘उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३४ फिटको दलको झण्डा र सोहि नापको चुनाव चिह्न राख्नबाहेक दलको प्रचारप्रसचार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुलाईन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने । त्यस्तै, १३ (ढ)मा उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने ।  

माईकिङ गरेर प्रचारप्रसार गर्नु निर्वाचन आचारसंहिता विपरित मात्रै होईन, पोखरा नो हर्न जोन क्षेत्र भएकाले त्यसको धज्जी उडाउनु पनि हो । पोखरा महानगरपालिकाले सहरी क्षेत्रलाई नो हर्न जोन घोषणा गरेर माईकिङ गर्न प्रतिबन्ध लगाएको छ । तर नीति बनाउन संसद छिर्न लागेका उम्मेदवारहरु महानगरको अभियान र निर्वाचन आयोगको आचारसंहिता विपरित माइकिङ गरिरहेका छन् ।  

पोखरा नालामुखका एक क्लिनिक सञ्चालकले दल र उम्मेदवारहरुले चुनावी प्रचारका लागि गरेको माईकिङले आफू ईरिटेड भएको बताए । उनले भने,‘नयाँ होस् कि पुराना सबै एउटै ड्याङ्का रहेछन् । माईकिङले ईरिटेसन भइसक्यो ।’ उनले निर्वाचन आयोगले कडाईका साथ आचारसंहिता पालना गराउनुपर्ने बताए । ‘नीति नियम बनाउने, कानून बनाउने ठाउँमा जान्छु भन्नेले महानगरकै नीति तोडेको छ,’ उनले थपे, ‘यस्तोमा नियमन गर्ने निर्वाचन आयोग के हेरेर बसेको छ ?’

पोखरा नदीपुरका राजेश तामाङ पनि चुनाव प्रचारका लागि भइरहेको माइकिङले आजित भएको बताउँछन् । ‘घरमा बस्दा होस् वा बाहिर निस्कँदा जताततै माइकिङ छ,’ उनले भने,‘यसले गर्दा कान पाकिसक्यो, कसले हो नियन्त्रण गर्ने ?’  

चुनावमा प्रयोग गरिएको माईकिङबिरुद्ध नागरिक समाजले शुरुदेखि नै आवाज उठाइरहेको छ । यसको अगुवाई नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले गठन गरेको निर्वाचन आचारसंहिता निगरानी समितिका संयोजकसमेत रहेका उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,‘विहानदेखि साँझसम्म चर्को माइकिङसहित चुनाव प्रचारप्रसार गर्ने दलहरुलाई कारवाही गरेको खोई ?’  

सामाजिक सञ्जालमा उठेको आवाज नसुनिएपछि संयोजक पौडेल र नागरिक समाज पोखराकी सह–संयोजक दुर्गाकुमारी शर्माले निवेदन नै लेखेर माइकिङसहित चुनाव प्रचारप्रसार गर्ने कार्य रोक्न माग गरेका छन् । फोन सम्पर्क गरेर कार्यालयलाई जानकारी गराउँदासमेत आवश्यक कारवाही नगरिएकोप्रति दुःख व्यक्त गर्दै निवेदनमा भनिएको छ,‘आचारसंहिता उलंघनकर्ताबिरुद्द हदैसम्मको कारवाही नभएसम्म दण्डहिनताले प्रश्रय पाउने भएकाले अविलम्व कारवाही गरियोस् भन्दै जोडदार माग गर्दछौं ।’  

आचारसंहिता उलंघन, नो हर्न जोनको उलंघन, महानगरकै माइकिङ निषेध अभियान विपपिरत र नागरिकको विरोधका बाबजुद माइकिङमार्फत निर्वाचन प्रचारप्रसार भइरहँदा निर्वाचन कार्यालय भने निवेदन नपरेको बहानामा मुकदर्शक भएर बसेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी नारायण ढकालले माइकिङ गरेको थाहा भए पनि निवेदन नपरेकाले कारवाही नगरिएको बताउँछन् । कास्की–३ का प्रमुख निर्वाचन अधिकृतसमेत रहेका ढकालले यसो भनिरहँदा निर्वाचन अधिकृतको कार्यालय अगाडिबाट ठूलो आवाजमा माइकिङमार्फत कुनै अमुक पार्टीको चुनाव प्रचारप्रसार भइरहेको थियो । त्यसलाई ईंगित गर्दै पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘मौखिक रुपमा आएका गुनासाहरुको सम्बोधन गर्ने प्रयास गरेका छौं । त्यसरी आएको गुनासोमा दल र तिनका उम्मेदवारहरुलाई सचेत गराएपछि त्यो कार्य रोकिएको छ ।’  

माइकिङमात्रै होईन भोजभतेर खुवाउने, झण्डाको दुरुपयोग गर्नेलगायतका आचारसंहिता विपरितका कार्यहरु पनि मौखिक जानकारीकै भरमा रोकिएको उनले बताए । ‘खान लागेको भोजसमेत दलको अध्यक्षलाई फोन गरेर रोक्न लगाएका छौं, हामीले भनेपछि दलहरुले त्यस्ता कार्यहरु सहजै रोक्ने गरेका छन् ।’

प्रकाशित: १७ फाल्गुन २०८२ १९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App