प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ नजिकिँदै गर्दा निर्वाचन आयोग, नेपालले मतदान केन्द्रमा प्रवेश पाउने व्यक्ति र निषेधित सामग्रीबारे स्पष्ट मार्गनिर्देशन सार्वजनिक गरेको छ। मतदाता, उम्मेदवारका प्रतिनिधि तथा अनुमतिप्राप्त पर्यवेक्षकबाहेक अनधिकृत व्यक्तिलाई मतदान केन्द्रमा प्रवेश नदिइने आयोगले स्पष्ट पारेको छ।
आयोगका अनुसार मतदान केन्द्रमा मतदाता स्वयं प्रवेश गर्न पाउनेछन्। त्यसैगरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार वा निजका एक जना निर्वाचन प्रतिनिधि अथवा मतदान प्रतिनिधिलाई प्रवेश अनुमति दिइने व्यवस्था छ। समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने दलका निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिलाई पनि निर्धारित प्रावधानअनुसार प्रवेशको अनुमति रहनेछ।
यस्तै आयोगबाट विधिवत् अनुमतिपत्र प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृतबाट स्वीकृत व्यक्तिहरूलाई समेत मतदान केन्द्रभित्र प्रवेश गर्न दिइनेछ। मतदातासँगै पाँच वर्षमुनिका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपमा अशक्त मतदाताको सहयोगार्थ साथमा आएका एकाघरका परिवार सदस्यलाई पनि सहायतार्थ प्रवेशको अनुमति रहने आयोगले स्पष्ट पारेको छ।
प्रवेश व्यवस्थापनसम्बन्धी प्रावधानअनुसार मतदान अधिकृतले कुनै दल वा सो दलका उम्मेदवारका तर्फबाट एक पटकमा एक जना मात्र प्रतिनिधिलाई मतदान केन्द्रमा प्रवेश गराउने व्यवस्था मिलाउनुपर्नेछ। साथै, मतदान कार्यको निम्ति अत्यावश्यक ठहरिएमा मात्र सम्बन्धित व्यक्तिलाई प्रवेश अनुमति दिनुपर्ने प्रावधान रहेको छ।
यसैबीच आयोगले मतदान केन्द्रभित्र लैजान निषेधित सामग्रीबारे पनि कडाइ गर्ने जनाएको छ। मतदान केन्द्रमा प्रवेश गर्ने व्यक्तिले सलाइ, लाइटर, एसिडजस्ता प्रज्वलनशील पदार्थ, फोटो खिच्ने क्यामेरा, मोबाइल फोनलगायतका विद्युतीय उपकरण तथा मतदान अधिकृतले निषेध गरेका अन्य कुनै वस्तु साथमा लैजान नपाउने व्यवस्था गरिएको छ।
निर्वाचन प्रक्रियालाई स्वच्छ, मर्यादित र शान्तिपूर्ण बनाउन यी प्रावधान कार्यान्वयन गरिने आयोगको भनाइ छ। आयोगले सबै सरोकारवालालाई नियमपालनमा सहयोग गर्न आग्रह गरेको छ।
प्रकाशित: १७ फाल्गुन २०८२ १९:२१ आइतबार





