२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

प्रहरीले खेदाउने क्रममा पोखरीमा डुबेका किशोर मृत फेला

विराटनगर महानगरपालिका–१८ भेडियारीमा प्रहरीलाई देखेपछि गाँजा र मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा डुबेका १७ वर्षीय मन्जितकुमार यादव मृत फेला परेका छन्।

गत बुधबार बिहान पोखरीमा हाम फालेर बेपत्ता भएका यादवको शव शुक्रबार बिहान साढे १० बजेतिर सोही पोखरीको बिच भागमा तैरिरहेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनका अनुसार अस्थायी प्रहरी पोस्ट भेडियारीको टोलीले दुई जना सवार बिआर ५० एएल ३६८७ नम्बरको नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोज्दा चालक यादव मोटरसाइकल छाडेर भागेका थिए। भाग्ने क्रममा उनी पोखरीमा डुबेर बेपत्ता भएका थिए।

उनको खोजीका लागि नेपाल र सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिए पनि शव फेला परेको थिए। तर, शुक्रबार बिहान पोखरीको बिच भागमा तैरिरहेको अवस्था शव फेला परेको थियो।

प्रहरीले मोटरसाइकलको पछाडि सवार भारत सुपौलका ४१ वर्षीय शिवधर यादवलाई भने ६ किलो १३० ग्राम गाँजासहित सोही दिन नियन्त्रणमा लिएको थियो।

मृतक मन्जितकुमार यादव करिब एक वर्षअघि पनि गाँजासहित पक्राउ परेका थिए। तर, त्यतिबेला उमेर कम भएका कारण आगामी दिनमा यस्तो गतिविधिमा संलग्न नहुने सर्तमा उनलाई अभिभावकको जिम्मा लगाएर छोडेको प्रहरीले जनाएको छ।

मुद्दा नचलाईकन प्रहरीले छाडेको एक वर्षपछि गाँजाको धन्दासँगै जोडिएर यादवको ज्यान गएको छ। पक्राउ परेका भारतीय नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत बुधबार मृतक यादवले भारतीय नम्बरको मोटरसाइकल चलाएको पछाडि भारतीय नागरिक गाँजा लिएर बसेका थिए। अस्थायी प्रहरी पोस्ट भेडियारीको टोलीले उनीहरूलाई रोक्न खोज्दा दुवै जना मोटरसाइकल र गाँजा छाडेर भागे।

प्रहरीले पिछा गरेको थाहा पाएपछि फरार हुने क्रममा बुधबार बिहान पौने ९ बजेतिर पोखरीमा यादव डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। अर्का भारतीय नागरिकलाई प्रहरीले त्यही बेला पक्राउ गर्न सफल भएको थियो।

पोखरीमा बेपत्ता भएपछि स्थानीयले प्रहरी प्रशासनको विरोध गरेर आन्दोलन गर्न थालेपछि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिए पनि शव फेला पार्न नसकेपछि रित्तो हात फर्केको थियो। घटना भएको तीन दिनमा शव आफैँ पोखरीमा तैरिएको अवस्था फेला पर्‍यो।

शुक्रबार यादवको शव फेला परेपछि पोस्टमार्टमका लागि पोखरीमा झिकेर कोशी अस्पताल लैजान खोजीपछि स्थानीय र प्रहरीबिच दोहोरो झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउन्ड र सशस्त्र प्रहरी बल (एपिएफ)ले ११ राउन्ड आश्रुग्यास प्रहार गर्नुका बल प्रयोग गरेको थियो।

स्थिति असामान्य भएपछि बल प्रयोग गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि स्थानीय, मृतका घरपरिवार र प्रहरीबिच जिल्ला प्रशासन कार्यालयमा छलफल गरी थप निचोड आएपछि मात्रै अघि बढ्ने सहमति भए अनुसार मोरङका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सर्वपक्षीय बैठक भइरहेको प्रहरीले जनाएको छ।

बैठकबाट आउने निर्णयले घटनाअघि बढ्ने बताइएको छ। मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २६ असार २०८३ १८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App