२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

मनहरी खोला तर्ने क्रममा एक जना बेपत्ता, खोजी कार्य जारी

मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोला तर्ने क्रममा बगेर एक जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार बुधबार राति करिब ११:०० बजे कैलाश गाउँपालिका–४ सिसैटाका २५ वर्षीय प्रकाश तामाङ र सोही स्थानका ३२ वर्षीय अशोक प्रजा कालिकाटारबाट देउतीस्थित आफ्नै घर फर्कने क्रममा मनहरी खोला तर्दै थिए। सोही क्रममा दुवै जनालाई खोलाले बगाएको थियो।

घटनामा प्रकाश तामाङ सकुशल बाहिर निस्कन सफल भए भने अशोक प्रजा खोलाले बगाएर बेपत्ता भएका छन्।

घटनाबारे बिहीबार बिहान करिब ९:१५ बजे प्रहरी चौकी भार्ता, मकवानपुरमा सूचना प्राप्त भएपछि प्रहरी चौकी भार्ता, प्रहरी चौकी चैनपुर तथा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ। स्थानीयवासीसँग समन्वय गरी बेपत्ता अशोक प्रजाको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

साथै, प्रहरीले वर्षायाममा खोलानालामा पानीको बहाव अत्यधिक हुने भएकाले बहावको अवस्था राम्रोसँग मूल्याङ्कन गरेर मात्र खोला तर्न, सकेसम्म अँध्यारो समयमा खोलानालाको बाटो प्रयोग नगर्न तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न सबैलाई अनुरोध गरेको छ।

प्रकाशित: २१ श्रावण २०८३ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App