१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

आफन्त नभेटिँदा तनाव र अत्यास

सिन्धुपाल्चोक चौताराकी सोनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर हातामा घरीघरी आउने एम्बुलेन्सलाई नियाल्थिन्। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अँध्यारो मुख पार्थिन्। प्रहरीले माइकबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्थिन्। विवरणमा पनि आफन्तको नाम नपरेपछि अँध्यारो मुख बनाएर मेचमा बस्छिन्। उनले यसरी आफन्तको खोजी गर्न थालेको तीन दिन भयो। रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा बुधबार आएको बाढीपछि सम्पर्कविहीन भएका दाजु शिवराम केसीलाई खोज्न उनी ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल धाइरहेकी छन्। उनीसँगै तीन दिदी र अर्का दाइ पनि खोजीमा जुटिरहेका छन्।

शिवराम र उनका साथी मनीष खड्का बुधबार बिहानदेखि सम्पर्कमा आएका छैनन्। शिवरामले सामान बोक्ने कन्टेनर र मनीषले पर्यटक बस चलाउँथे। मनीष सम्पर्कमा नआएपछि उनकी पत्नी चिन्तित बनेको जानकारी सोेनियाले दिइन्। उनीहरूले विभिन्न समूह बनाएर अस्पतालमा ल्याइएका घाइतेको सूचीमा, सरकारको सूचीमा बेपत्ता आफन्तलाई खोजिरहेका छन्। चितवनमा भएका आफन्तलाई पनि नारायणी नदी आसपासमा खोज्न पठाएका छन।

शिवराम र मनीषलाई सेनाले उद्धार गरेर ल्याउने आशामा आफन्त छन्। ‘नभेटिएसम्म आशा लाग्दो रहेछ’, सोनियाले भनिन्। पछिल्लो पटक उनीहरूको मोबाइल फोनले टिमुेरको लोकेसन देखाएको थियो।

सोनियाजस्तै बेपत्ता आफन्तको खोजीमा रहेकी काठमडौंकी लोकमाया योन्जन पनि शुक्रबार ट्रमा सेन्टरमा भेटिइन्। उनीसहितको टोली बुधबारदेखि बेपत्ता भएका सिन्धुपाल्चोकका ३५ वर्षीय ज्वाइँ सोमबहादुर तामाङको खोजीमा जुटेको छ।

सोमबहादुरले मंगलबार स्याफ्रुबेंसीबाट सम्पर्क गरी बुधबार बिहानै केरुङ पुग्ने भनेर परिवारलाई जानकारी दिएका थिए। बाढीपछि उनी सम्पर्कमा आएका छैनन्। आफन्तले काठमाडौंका अस्पतालहरूमा उनको खोजी गरिरहेका छन्। सोमबहादुरका एक बच्चा र पत्नी छन्।

पहिला वीरगन्ज–रक्सोल गाडी चलाउने उनले पछिल्ला केही महिनादेखि केरुङबाट मालसामान ल्याउने गाडी चलाउन थालेका थिए। उनीसहित ६ जना केरुङतर्फ गएकोमा एक मात्र सम्पर्कमा आएको लोकमायाले बताइन्।

त्यस्तै सिन्धुपाल्चोक भोटेकोसीका–२ का गणेश घतानी पनि शुक्रबार ट्रमा सेन्टरमा आफन्त खोज्दै थिए। गणेशसहित बाढीपछि सम्पर्कमा नआएका दिलबहादुर लम्काने र श्याम लम्कानेको खोजीमा छन्। उनीहरूले वीर र त्रिवि शिक्षण अस्पतालमा पनि खोजी गरे तर आफन्तको अवस्था नखुल्दा गणेश जस्तै धेरै थकित र चिन्तित छन्। सिन्धुपाल्चोकका ७५ जना जना सम्पर्कमा नआएको खोजीमा निस्किएका गणेशसहितले जानकारी दिए।  

प्रकाशित: १३ भाद्र २०८३ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App