२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

ऐनापहरामा स्काइ वाक : पर्यटकीय आकर्षणको नयाँ गन्तव्य

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ। गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ।  

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। रु १५ लाखको लगानीमा स्काइ वाक निर्माण छ र केही दिनभित्र यसलाई व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ।  

कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ। उनले भने, ‘स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ। सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन।’  

यो स्थान पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ र यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ। स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।  

पृथ्वीराजमार्गसँगै जोडिएको यो ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रूपमा विकास भएको छ। सार्वजनिक बिदाका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए।  

ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यो ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए। उनले भने, ‘गाउँपालिकाले यो ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकाले पनि यो ठाउँ रोजाइमा पर्ने गरेको छ।’  

ऐना पहराबाट गाउँपालिकाले रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ। राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रूपमा विकास भएपछि यसलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ।  

यहाँ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरनानजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ। तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खलाको छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ। ऐना पहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ। यो ठाउँलाई व्यवस्थित गर्न विस्तृत आयोजना प्रतिवेदनअनुसार रु १० करोड बजेट आवश्यक पर्छ। डिपिआरअनुसार यो ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ। रासस

प्रकाशित: २५ असार २०८२ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App