२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

त्रिभुवन राजमार्गमा डिब्बा ट्रक दुर्घटना हुँदा चालक घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–२ चुनियास्थित त्रिभुवन राजमार्गमा बुधबार राति डिब्बा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।

प्रहरीका अनुसार राति करिब ११:०० बजे वीरगञ्जबाट काठमाडौंतर्फ मेशिनरी सामान बोकेर जाँदै गरेको म.प्र.०३-००२ ख ४७०५ नम्बरको डिब्बा ट्रक पालुङतर्फबाट हेटौंडा आउँदै गरेको नम्बर नखुलेको ट्रकले साइड च्यापेर आउँदा साइड दिने क्रममा सडकको किनार भासिएपछि करिब २०–२५ मिटर तल खसेर बाँसको झ्याङमा अड्किएको थियो।

दुर्घटनामा ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१४ निवासी ४३ वर्षीय सुब्बा स्याङतान घाइते भएका छन्। उनको ढाड–कम्मरमा भित्री चोट तथा बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेलाई राति ११:३० बजे हेटौंडा अस्पताल पुर्‍याई उपचार गरिएको थियो। उपचारपछि बिहान २:४५ बजे अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भैंसे र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा ट्रकमा क्षति पुगेको छ। चालकले मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत वैध रहेको प्रहरीले जनाएको छ। चालकको उपचारका क्रममा उनका बुवा समीरबहादुर स्याङतान साथमा रहेका थिए।

प्रकाशित: २१ श्रावण २०८३ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App