खोटाङ खोटेहाङ–३ की मनिषा राई इटहरीको जनता बहुमुखी क्याम्पस बिए तेस्रो वर्षमा अध्ययन गर्छिन् । हिउँदका बेला घरबाट थुप्रैपटक आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड (भित्ता) झरेको झल्झली याद आउँछ उनलाई। यसकारण उनी बर्खामा खोटाङ आउजाउ कमै मात्र गर्छिन्।
उनलाई घर जान इटहरीबाट उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट गाईघाटको साउनेपोखरीटार हुँदै रसुवाको सिमपानी भएर खोटाङको ठाटी भञ्ज्याङसम्म पुग्नुपर्छ । यो सडक वारपार गर्दा बर्खाका बेला उनलाई ठुलै युद्ध जिते जस्तै हुन्छ। ‘हिउँदमा पनि अत्यासलाग्दो यो सडक बर्खामा थप सकसपूर्ण हुन्छ। उदयपुरको रसुवा पहाडको बाटो पुरै भिरालो छ । यो पहाडको भागमा अलिकति सानो त्रुटि भएमा गाडी सोझै कोसीमै पुग्छ, कोसीमा झरेपछि बाँच्ने आशा त हुँदै हुँदैन्,’ उनले भनिन्।
कोसी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्गमध्ये धेरैजसो बर्खाका बेला पानी पर्दा हिलाम्मे हुने अवस्थामा छन्। पहिरो पनि त्यत्तिकै त्रास हुन्छ । पहिरोले सडक अवरुद्ध भइरहन्छ भने कतिपय अवस्थामा पहिरोसँगै गाडी बग्छन्। ‘जहिले मनमा त्रास बोकेर यात्रा गर्नुपर्छ, बर्खाका बेला त घरबाट हिँडेपछि गन्तव्यमा नपुग्दासम्म सबैलाई चिन्ताले सताउँछ,’ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–३ की समिता राईले भनिन्।
गत वैशाख २३ गते कोसी राजमार्गअन्तर्गत संखुवासभाको मकालु–३ स्थित नयाँ बस्तीमा गएको पहिरोका कारण त्यहाँ दोहोरो रुपमा गाडी चल्न सकेका छैनन् । संखुवासभाको माथिल्लो भाग भोटखोला–मकालु क्षेत्र बर्खामा पहिरोको उच्च जोखिममा छ। पहिरो खसेर कति बेला सडक बन्द हुने हो भन्ने टुंगो हुँदैन्। सिलिचोङ, बाला र सभापोखरी क्षेत्र पनि पहिरोको जोखिममा छन्। यी तीनवटै क्षेत्रलाई सुरक्षा निकायले उच्च संवेदनशील सूचीमा राखेको छ। ‘बाढीपहिरोले सडकमा त असर गर्छ नै तर मानवीय क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय भएको छ,’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मेघराज अर्यालले भने।
संखुवासभाको पाँचखपन नगरपालिका–८ की एजिना बस्नेतका अनुसार यतिबेला चैनपुरदेखि पाँचखपनको सडक बाढी आएर पुरै बिग्रिएको छ । त्यहाँ हिउँ खोला पर्छ । उक्त क्षेत्रमा पानी पर्नासाथ पहिरो जान्छ । जसले गर्दा स्थानीय बासिन्दाको सम्पर्क चैनपुरसँग टुट्छ । बर्खाका बेला अतिआवश्यक कामका लागि खाँदबारी जाने गर्छन्।
गत वैशाख अन्तिम साताको वर्षाले मध्य पहाडी लोकमार्गअन्तर्गतको भोजपुर नगरपालिका–५ स्थित बोखिम क्षेत्रमा बाढी असर ग¥यो। त्यहाँ अवरुद्ध सडक अहिले एकतर्फी मात्र सञ्चालनमा आएको छ। भोजपुर सदरमुकाम हुँदै दक्षिणी क्षेत्र दलगाउँ र भुल्के जाने सडक पनि केही साताअघि पहिरोले अवरुद्ध भएको थियो । पहिरो हटाएपछि अहिले सडक सञ्चालनमा छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले पहिरो गएर सडक अवरुद्ध भएमा तत्काल खुलाउने व्यवस्था मिलाइएको जानकारी दिए । ‘पहिरोका कारण सडकमा हुने अवरोध हटाउन हामीले आवश्यक सामग्रीको जगेडा गरेका छौं,’ उनले भने, ‘स्थानीय तहका प्रमुखसँग एक चरण बैठक पनि गरिएको छ, सबैसँग समन्वय गरेर तत्काल सडक अवरोध हटाउने योजना छ।’
एक साताअघिको बाढीपहिरोले पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका क्षेत्रको सडक अवरुद्ध छ । याङ्वरक गाउँपालिकाको ओयाम, दोभान र रिजालभिरमा बाढीपहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको हो। बाढीले पाँचथर र ताप्लेजुङ्लाई जोड्ने निर्माणाधीन पक्की पुल पनि बगाएको छ। याङवरक गाउँपालिकास्थित जलविद्युत् गृहमा पनि क्षति पुगेको छ। पहिरोकै कारण मध्यपहाडी राजमार्गअन्तर्गत च्याङथापु–थर्पु खण्ड पनि अवरुद्ध छ । तमोर कोरिडोरअन्तर्गत फलाम खोला, मेवा खोला र ठाडो खोलामा पुल नहुँदा बर्खामा खोला बढेपछि यातायात सेवा अवरुद्द हुन्छ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार बर्खाभरि बाढीपहिरोले समस्या भइरहन्छ। खासगरी मध्य पहाडी राजमार्गअन्तर्गत फलाम खोला, मेवा खोला र ठाडो खोलामा पुल नहुँदा पानीको सतह बढ्नेबित्तिकै यातायात सेवा सञ्चालनमा समस्या हुन्छ। उनले भने, ‘पहिरो र बाढी जेठदेखि असोजसम्मै आइरहन्छ।’
मेची राजमार्गअन्तर्गत इलामको माइखोला राजदवाडी खण्ड उच्च जोखिममा छ । ठुलो वर्षा हुनासाथ उक्त खण्ड अवरुद्ध हुन्छ । इलामको रोम गाउँपालिकाको कोलबुङ् क्षेत्र पनि पहिरोको उच्च जोखिममा छ। त्यहाँ सडक मर्मतको काम भइरहेकाले पहिरो जोखिम थप बढेको छ। इलामको सार्खेजुङ्मा पनि ठुलो वर्षा हुनासाथ सडक अवरुद्ध हुन्छ। सडक डिभिजन इलामले यस क्षेत्रका सडकलाई उच्च जोखिममा राखेको छ।
कोसी प्रदेशअन्तर्गत एसियन हाइवे (पूर्व–पश्चिम राजमार्ग) लाई तीन प्याकेज ठेक्का लगाएर स्तोरन्नतिको काम भइरहेको छ । झापाको काकडभिट्टादेखि सुनसरीको इटहरीलविपुरसम्मको ९५ किलोमिटर सडक अहिले निर्माण भइरहेको छ । यो खण्डका छ वटा मुख्य पुल निर्माणधीन छन् । सडक विस्तार गर्दा पुरानो पिच उक्काइएको छ । जसले गर्दा थुप्रै स्थानमा खाल्डाखुल्डी छन्। ‘अप्रत्यासित रुपमा बाढी आयो भने निकै गाह्रो छ,’ एसियन हाइवे सडक निर्माण परियोजना इटहरीका इन्जिनियर जितेन्द्रकुमार साहले भने।
सडकको दूरवस्थाका कारण दुर्घटनासमेत हुने गरेका छन्। अघिल्लो जेठ, असार र साउनमा मात्र कोसी प्रदेशमा एक हजार ४१६ वटा दुर्घटना भएको प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । जसमा जेठमा ४९१, असारमा ४७२ र साउनमा ४५३ वटा सडक दुर्घटनाका घटना भएका थिए।
पूर्वी तराईको हुलाकी राजमार्गअन्तर्गत झापा, मोरङ र सुनसरीमध्ये झापाको कन्काईमा पुल नबन्दा बर्खाका बेला समस्या हुने गरेको छ। ७२५ मिटर लम्बाइको कन्काई पुल ठेकेदार कम्पनीले पटकपटक म्याद थप गर्दा पनि पूरा नगरेपछि यतिबेला ठेक्का तोडिएको छ । २०६८ जेठ ३० गते पप्पु/महादेव जेभीले ३४ करोडमा ठेक्का लिएको उक्त पुल छ पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले काम नगरेपछि ठेक्का तोडिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले बताए।
हुलाकी राजमार्गअन्तर्गत पुलबाहेक झापाको भद्रपुरदेखि राजगढसम्म ५०० मिटर सडक बन्न बाँकी छ। यस्तै मोरङको नयाँ बजार हाटखोलासम्म चार किलोमिटर सडक एक पटक ठेक्का लागेर काम नभएपछि फेरि नयाँ ठेक्का प्रक्रियामा छ । मोरङकै गान्धी मनमोहन मार्गको उत्तर–दक्षिण ३० किलोमिटर सडक निर्माणाधीन छ ।
सुनसरीको सदरमुकाम इनरुवा–कप्तानगन्ज हुँदै कौवाखोज जोड्ने २२ किलोमिटर सडक पनि ठेक्का तोडेर नयाँ लगाउने प्रक्रियामा छ । हुलाकी राजमार्गअन्तर्गत केही सीमित स्थानमा सडक बन्न बाँकी छ। बर्षा हुलाकी राजमार्गअन्तर्गतका विभिन्न ठाउँ हिलाम्य हुँदा आवागमन असहज हुने गरेको इन्जिनियर साहले बताए।
कोसी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा बन्नुपर्ने २२ वटा पुल नबन्दा पनि बर्खाका बेला यातायात कष्टकर हुने गरेको छ । कोसी प्रदेश क्षेत्रको सडक विभाग पुल सेक्टर निर्माण आयोजनाका इन्जिनियर नवीनकुमार साहका अनुसार पहाडी जिल्लामा पुल नबन्दा समस्या हुने गरेको छ।
उदयपुरको त्रियुगा, भोजपुरको रानीटार, खोटाङ्को धापलाङ, ओखलढुङगा–खोटाङ् जोड्ने तल्वा, इलामको रिकुवा, देउमाई, धनकुटाको मुगा, पाँथचरको हेवा, लोरिपा र लकुवामा पुल नबन्दा बर्खाका बेला सर्वसाधारणलाई आवातजावतमा समस्या हुने गरेको हो। तमोर कोरिडोरअन्तर्गत मावा खोलामा पानीको सतह बढ्नेबित्तिकै गाडी चलाउन सकिँदैन । पुल निर्माण आयोजनाका प्रमुख इन्जिनियर आशिष थापा मगरले बर्खामा सबै सचेत हुनुपर्ने बताउँछन्। ‘पुल नभएका कारण समस्या हुन्छ भने आफैं सचेत हुनुपर्छ,’ उनले भने।
बर्खामा कोसी प्रदेशका विभिन्न स्थानमा शृंखलाबद्ध रुपमा हुने सडक अवरोध हटाएर सहज बनाउन हेभी इक्विपमेन्ट डिभिजन इटहरी सक्रिय रुपमा जुट्दै आएको छ । हेभी इक्विपमेन्टका सूचना अधिकारी प्रेमकुमार झाका अनुसार बढी जोखिमका सडकको सूचीकरण गरी ती ठाउँमा पूर्वतयारी अवस्थामा उपकरण राख्ने गरिएको छ।
बर्खाका बेला कोसी प्रदेशअन्तर्गत सुनसरीको चतरा–बराहक्षेत्र, धरान–भेडेटार, धनकुटाको मूलघाटदेखि माथि, संखुवासभाको तुम्लिङटार, इलाम–पाँचथर, ओखलढुंगाको थर्पु, गाईघाट–दिक्तेललगायतका सडकमा बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । कार्यालयले लोडर, जेसिबी र आवश्यकता अनुसार एक्साभेटर प्रयोग गरेर सडकको अवरोध पन्छ्याउने गरेको छ।
पहाडी सडकमा बर्खाका बेला बाढिपहिरोले दुर्घटनाको उच्च जोखिम हुने ग२ख ४७७ नम्बर गाडीका चालक सानु घिमिरे बताउँछन् । उनले इटहरी–हिले सडक खण्डमा गाडी चलाउँछन्।
कोसी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बर्खा समस्या आइरहने सडक क्षेत्र पहिचान गरी सतर्कता अपनाइने जनाएको छ। मन्त्रालयका उपसचिव एवं प्रवक्ता अर्जुन निरौलाका अनुसार समस्याग्रस्त सडक क्षेत्र पहिचान गरी ती स्थानमा ध्यान केन्द्रित गर्ने र विपद् व्यवस्थापन समितिको मापदण्डले तोकेका कार्य गर्नेगरी तयारी भइरहेको छ।
अघिल्लो वर्ष बर्खाको समयमा बाढीपहिरोमा परी कोसी प्रदेशमा ५२ जनाको मृत्यु भएको थियो । पछिल्लो चार वर्षको तथ्यांकका आधारमा गत वर्ष बाढीपहिरोका कारण मानवीय क्षति धेरै भएको हो।
एक साताअघिको बाढीपहिरोले पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथर जिल्लाका विभिन्न सडकमा पुर्याएको क्षति।
बागमती प्रदेशका मुख्य राजमार्ग तथा निर्माणाधीन सडक उच्च जोखिममा छन् । हरेक बर्खामा बाढीपहिरोका कारण डाइभर्सन बग्ने तथा साँघुरा सडकका कारण यात्रु सुरक्षा चुनौती बढ्दै गएको छ । यस पटक पनि बर्खामा यो समस्या यात्रुले भोग्नुपर्नेछ । नेपाल प्रहरी मार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर (चितवन) का अनुसार बर्खा लागेसँगै प्रदेशअन्तर्गतका सडकमा यात्रा जोखिमपूर्ण हुने गरेको छ।
कार्यालयका अनुसार अघिल्लो बर्ष रोसी खोलामा आएको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर डाइभर्सन बगाउँदा यातायात सेवा प्रभावित भएको थियो । यो समस्या अहिले पनि छ । यही क्षेत्रमा वर्षाका कारण गत वैशाख २० गते पाँच वटा विद्युतीय गाडी फसेका थिए । त्यसपछि काभ्रे र सिन्धुली जिल्ला प्रशासन कार्यालयले २२ गतेदेखि राति सवारी आवागमनमा रोक लगाएका छन् । प्रशासनले बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाएको छ।
कान्तिपथ पनि सामान्य वर्षामा पनि अवरुद्ध हुने गरेको छ। भैंसे हुँदै कुलेखानी–दक्षिणकाली जाने सडक पनि जोखिममा छ। यो सडकमा पनि राति सवारीसाधन सञ्चालन बन्द गरिएको छ।
राजधानी प्रवेशको मुख्य नाका नारायणगढ–मुग्लिन सडक खण्डमा पनि पहिरोको जोखिम उच्च छ । नेपाल प्रहरी मार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले तुइन खोलामा झर्ने पहिरोले हरेक वर्ष समस्या निम्तउने गरेको बताए । ‘गत वर्ष दसैंको समयमा तुइन खोलामा खसेको पहिरो हटाउन चार दिन लागेको थियो,’ उनले भने, ‘पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्ड पनि निर्माणाधीन छ। चितवनको मौवाखोला, धादिङको कृष्णभीर, झ्यापेखोलालगायतका क्षेत्र अत्यन्त जोखिमयुक्त छन्।’
उनका अनुसार अघिल्लो वर्ष झ्यापेखोलामा आएको पहिरोले दुई वटा बस पुरिएका थिए।
त्यस्तै बागमती प्रदेशमा पर्ने पूर्व–पश्चिम राजमार्ग र अन्य सडकमा दुर्घटनाको जोखिम बढ्दो रहेको नेपाल प्रहरी मार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका सूचना अधिकारी गंगा बहादुर सारुले बताए। प्रहरी उपरीक्षक पाण्डेले सडक पूर्वाधार कमजोर हुँदा दुर्घटना व्यवस्थापनसमेत कठिन बन्दै गएको बताए। ‘साँघुरा सडक छन्, सडकबिचमा गाडी बिग्रिऐ हटाउने पर्याप्त उपकरण हामीसँग छैनन्,’ उनले भने, ‘धेरै अवस्थामा निजी क्षेत्रसँग सहयोग मागेर काम चलाउनुपर्ने बाध्यता छ।’
सूचना अधिकारी सारुले सडक दुर्घटना न्यूनीकरणका लागि डिजिटल चेकपोइन्ट र प्रविधिमैत्री यातायात व्यवस्थापन प्रणाली आवश्यक रहेको बताए । ‘सडकमा हिँड्दाहिँड्दै गाडी बिग्रियो भने तत्काल हटाउन सक्ने उपकरणसमेत छैन । अब प्रविधिको प्रयोग गरेर सडक सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने।
बागमती प्रदेशमा मुख्य राजमार्गहरूको लम्बाइ करिब ८९० किलोमिटर छ । तीमध्ये नारायणगढ–मुग्लिन, पृथ्वी राजमार्ग, त्रिभुवन राजमार्ग, बिपी राजमार्ग, कुलेखानी मार्ग तथा रसुवाको पासाङल्हाम्बु राजमार्ग बढी जोखिममा छन् । यो प्रदेशमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पनि उच्च छ । चालु आर्थिक वर्ष २०८२/८३ मा सवारी दुर्घटनामा परी २८१ जनाको मृत्यु भएको छ भने ४०६ जना गम्भीर र दुई हजार ८९० जना सामान्य घाइते भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ३०० जनाको मृत्यु भएको थियो । त्यसभन्दा अघिल्लो आवमा ३१५ जनाले ज्यान गुमाएका थिए। तथ्यांकअनुसार बागमती प्रदेशका १० मध्ये चितवन सबैभन्दा बढी सवारी दुर्घटना हुने जिल्ला हो।
चालु आर्थिकको वर्षको हालसम्म बागमती प्रदेशका १० जिल्लाबाट ट्राफिक प्रहरीले ६ करोड ६३ लाख ८१ हजार ५१५ रुपैयाँ राजस्व संकलन गरेको छ। विभिन्न कारबाहीमार्फत राजस्व संकलन भएको हो।
प्रकाशित: २० जेष्ठ २०८३ ०८:०६ बुधबार





