आगामी पाँच वर्षमा विश्वको औसत तापक्रम वृद्धिले नयाँ कीर्तिमान (रेकर्ड) राख्ने अथवा त्यसको वरपर रहने देखिएको छ।
विश्व मौसम संगठन (डब्लुएमओ) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसतभन्दा तीन गुणाले बढी हुनेछ।
डब्लुएमओका लागि बेलायतको ‘मेट अफिस’ ले तयार पारेको ‘एनुअल–टु–डेकाडल अपडेट’ प्रतिवेदनमा गत पाँच वर्षको जलवायु अवस्थाको समीक्षा गर्नुका साथै आगामी पाँच वर्षका लागि तापक्रम र वर्षासम्बन्धी क्षेत्रीय पूर्वानुमान गरिएको छ।
प्रतिवेदनअनुसार औद्योगिक क्रान्ति हुनुअघिको अवधि (सन् १८५०–१९००) को औसतभन्दा सन् २०२६ देखि २०३० सम्मको अवधिमा विश्वव्यापी वार्षिक औसत सतही तापक्रम १.३ डिग्रीदेखि १.९ डिग्री सेल्सियसले बढी हुने देखिएको छ।
यसैगरी अबको ५ वर्षभित्रै कम्तीमा सन् २०२४ को तापमान वृद्धिलाई उछिन्दै मानव इतिहासकै सबैभन्दा तातो वर्ष बन्ने ८६ प्रतिशत सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक क्रान्ति हुनुअघिको स्तरभन्दा करिब १.५५ डिग्री सेल्सियस बढी थियो।
प्रतिवेदनअनुसार सन् २०२६–२०३० को बिचमा कम्तीमा एक वर्ष विश्वको औसत सतही तापक्रम औद्योगिक क्रान्ति हुनुअघिको औसतभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी पुग्ने सम्भावना ९१ प्रतिशत छ।
प्रतिवेदनले सन् २०२६–२०३० को औसत तापक्रम पनि १.५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना ७५ प्रतिशत रहन सक्ने देखाएको छ। आगामी पाँच वर्षभित्र कुनै एक वर्षमा तापक्रम वृद्धि २ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना एक प्रतिशतभन्दा कम रहेको प्रतिवेदनको ठहर छ।
एलनिनोको प्रभाव बढ्ने
प्रशान्त महासागरको मध्य उष्णकटीबन्धीय क्षेत्रको तापक्रम विश्लेषणअनुसार आगामी वर्षमा त्यो क्षेत्रमा एलनिनो (जलवायुगत चक्र) को प्रभाव बढ्ने देखिएको छ र विशेषगरी २०२७ र २०२८ मा यसको सम्भावना बढी छ।
‘सन् २०२६ को अन्त्यतिर एलनिनो विकसित हुने पूर्वानुमान छ। यसले त्यसपछि अर्थात् सन २०२७ मा तापक्रमको नयाँ कीर्तिमान कायम हुने सम्भावना बढाउँछ,’ प्रतिवेदनका प्रमुख लेखक लिओन हम्र्यान्सनले प्रतिवेदनबारे जानकारी दिन जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ।
यो प्रतिवेदन विश्वका १३ जलवायु अनुसन्धान तथा मौसमसम्बन्धी संस्थाले उपलब्ध गराएका पूर्वानुमानका आधारमा तयार गरिएको हो।
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान वृद्धिलाई सकेसम्म १.५ डिग्रीमा सीमित राख्ने लक्ष्य लिएको छ।
तापमान वृद्धिले यो सीमा नाघे–ननाघेको निर्क्योल दीर्घकालीन औसत तापक्रम वृद्धिको आधारमा गरिन्छ। सामान्यतया २० वर्षको अवधिमा यसलाई मूल्याङ्कन गरिन्छ।
त्यसैले कुनै एक वर्ष मात्रै १.५ डिग्रीभन्दा बढीले सरदर तापक्रम वृद्धि हुनुले पेरिस सम्झौताका लक्ष्यहरू असम्भव भइसकेका छन् भन्न मिल्दैन। तर विश्वव्यापी तापक्रम निरन्तर बढ्दै जाँदा यस्ता अस्थायी रूपमा सीमा नाघ्ने क्रम अझै बारम्बार हुनसक्ने चेतावनी प्रतिवेदनले दिएको छ।
अध्ययनका अन्य निष्कर्षमा आगामी पाँच वर्षमा उत्तरी गोलार्धीय हिउँदे मौसम (नोभेम्बर–मार्च) मा आर्कटिक क्षेत्रको तापक्रम सन् १९९१–२०२० को औसतभन्दा २.८ डिग्री सेल्सियस बढी रहने अनुमान गरिएको छ। यो विश्वव्यापी औसत तापक्रम वृद्धिको तुलनामा साढे तीन गुणाले बढी हो।
यसैगरी सन् २०२६–२०३५ का लागि गरिएको समुद्री बरफको पूर्वानुमानले बारेन्ट्स सागर, बेरिङ सागर र ओखोट्स्क सागर क्षेत्रमा समुद्री बरफको मात्रा अझ घट्ने संकेत दिएको छ। आगामी पाँच जाडो मौसममा उत्तरी गोलार्धका उच्च अक्षांश क्षेत्रहरूमा औसतभन्दा बढी वर्षा हुने सम्भावना छ।
प्रतिवेदनले उष्णकटीबन्धीय तथा उच्च अक्षांश क्षेत्रमा वर्षा बढ्ने र उपउष्णकटीबन्धीय क्षेत्रहरू विशेषगरी दक्षिणी गोलार्धमा वर्षा घट्ने प्रवृत्ति देखिने आकलन गरेको छ। तात्दै गएको वर्तमान विश्वको अपेक्षित प्रभावसँग यो आङ्कलनले तादात्म्य राख्छ।
सन् २०२६–२०३० को मेदेखि सेप्टेम्बरसम्मको अवधिमा साहेल क्षेत्र, उत्तरी युरोप, अलास्का र साइबेरियामा सामान्यभन्दा बढी वर्षा तथा अमेजन क्षेत्रमा सामान्यभन्दा कम वर्षा हुने सम्भावना देखिएको छ।
दक्षिण–पूर्वी युरोपमा हालका वर्षहरू असामान्य रूपमा सुख्खा रहे पनि सन् २०२६–२०३० को बिचमा त्यहाँ औसतभन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान छ। तर त्यस क्षेत्रको पूर्वानुमान क्षमता तुलनात्मक रूपमा कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ।
डब्लुएमओका अनुसार यी पूर्वानुमानहरू क्षेत्रीय जलवायु केन्द्रहरू, क्षेत्रीय जलवायु परामर्श मञ्चहरू तथा राष्ट्रिय मौसम तथा जल विज्ञान निकायहरूका लागि मार्गदर्शनका रूपमा उपयोगी हुनेछन्। साथै दीर्घकालीन जलवायु पूर्वानुमानको विश्वसनीय क्षेत्र र मौसमअनुसार फरक-फरक हुन सक्ने प्रतिवेदनले औंल्याएको छ।
प्रकाशित: २० जेष्ठ २०८३ २२:१२ बुधबार





