६ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

भ्रष्टाचारभन्दा ठूलो समस्या ढिलासुस्ती: पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा पनि ठूलो समस्याका रूपमा ढिलासुस्ती रहेको बताएका छन्। उनले प्रशासनिक ढिलासुस्तीले नै भ्रष्टाचारलाई मलजल गरिरहेको र राज्यलाई ठूलो क्षति पुर्‍याइरहेको टिप्पणी गरे।

शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, “भ्रष्टाचार त समस्या हुँदै हो, तर त्योभन्दा ठूलो समस्या ढिलासुस्ती हो। यसले राज्यलाई ठूलो नोक्सानी पुर्‍याउँछ, जसको ज्वलन्त नमुना मेलम्ची खानेपानी आयोजना हो। भ्रष्टाचारले भन्दा ठूलो क्षति ढिलासुस्तीले गरेको छ।”

उनले मेलम्ची आयोजनामा ढिलाइ गराउन भूमिका खेलेका पूर्वसचिव भीम उपाध्याय नै अहिले सुशासनको प्रवक्ता बन्नु हास्यास्पद भएको बताए।

महासचिव पोखरेलले समाजमा काम नगर्ने तर प्रक्रिया अल्झाउनेलाई ‘इमान्दार’ मान्ने गलत भाष्य स्थापित भएकोमा चिन्ता व्यक्त गरे। “जसले काम गर्दैन, उसलाई इमान्दार मान्ने भ्रमबाट समाज मुक्त हुनुपर्छ। काम नगर्नु इमान्दार हुनु होइन, यो भाष्य तोड्नुपर्छ,” उनले भने।

ढिलासुस्तीकै कारण नारायणगढ–बुटवल सडक खण्डको अवस्था बेहाल भएको उल्लेख गर्दै उनले समयमा काम नहुँदा दुई पटक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्ने अवस्था आएको बताए।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कूटनीतिक पहलका कारण ठेकेदारले छाड्न लागेको उक्त सडक निर्माणले निरन्तरता पाएको दाबी गरे।

प्रशासनिक ढिलासुस्ती अन्त्य गर्नका लागि सबै कागजात पुगेका कामको निर्णय सात दिनभित्र गरिसक्नुपर्ने र ढिलाइ गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।

“प्रशासनिक ढिलासुस्तीको दोष पनि राजनीतिक नेतृत्वले खेप्नुपर्दा प्रणालीप्रति नै जनताको अविश्वास बढेको छ,” पोखरेलले भने।

प्रकाशित: ३१ श्रावण २०८२ २१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App