२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्रीले ९६ वर्षका बुबासँग आशीर्वाद लिए

प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीको सबैलाई शुभकामना व्यक्त गरेका छन्।  

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैका जीवित पितालाई नमन, दिवङ्गत पितृलाई श्रद्धा व्यक्त गर्दै बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना दिएका छन्।  

प्रधानमन्त्री ओलीले आज बिहानै बुबासँग आशीर्वाद लिएको समेत जानकारी दिएका छन्। ‘बिहानै बुबासँग आशीर्वाद लिएँ। बुबा ९६ वर्षको हुनुभयो। कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनुपर्दैन, नजिकसम्म हिँडडुल गर्न सक्नुहुन्छ,’ प्रधानमन्त्रीले उल्लेख गरेका छन्, ‘बुबासँग एकछिन उतिबेलाका केही प्रसङ्गमा कुरा भए। उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ।’  

प्रधानमन्त्री ओलीले आफू चार वर्षको हुँदा आमा बितेको उल्लेख गर्दै आमाको अनुहारको धमिलो सम्झना मात्र आफूसँग बाँकी रहेको बताएका छन्।  

प्रधानमन्त्री ओलीले बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन रहेको बताएका छन्। ‘बुबाआमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर, सम्मान गर्नुपर्छ। टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो,’ प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।  

बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीमा छोराछोरीले परम्पराअनुसार आफ्ना बाबुलाई मनपर्ने मिठाई र भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन्।

प्रकाशित: ७ भाद्र २०८२ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App