२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सद्भाव भड्काउने खोज्दै प्रहरी: आठ जना पक्राउ, थप निगरानी बढाइँदै

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा सुरु भएको साम्प्रदायिक तनाव क्रमशः तराईका अन्य जिल्लासम्म फैलिन थालेपछि सुरक्षा निकायले निगरानी र कानुनी कारबाहीलाई तीव्र बनाएको छ। पछिल्ला घटनाक्रमबीच सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिक भावना भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट पाँच जना र धनुषाबाट तीन जना गरी आठ जनालाई नियन्त्रणमा लिइएको हो। सामाजिक सद्भावमा खलल पुर्‍याउने, द्वेष फैलाउने तथा साम्प्रदायिक भावना भड्काउने कुनै पनि गतिविधि कानुनविपरीत रहेको भन्दै त्यस्ता कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।

तराईको पछिल्लो अवस्था १० साउनको राति सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि थप संवेदनशील बनेको हो। उक्त घटनाका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। त्यसयता विभिन्न जिल्लामा विरोध प्रदर्शन, सुरक्षा सतर्कता र तनावका घटना देखिँदै आएका छन्।

सुरक्षा निकायका अनुसार हालसम्म सुनसरी घटनापछि उत्पन्न श्रृंखलाबद्ध तनावका कारण तीन जनाले ज्यान गुमाइसकेका छन्। घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ भने सम्भावित उक्साहट र अफवाह नियन्त्रणका लागि सामाजिक सञ्जालमाथिको निगरानी पनि बढाइएको छ।

प्रहरीले नागरिकलाई अपुष्ट सूचना, भ्रामक सामग्री तथा द्वेष फैलाउने अभिव्यक्ति सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गरेको छ। साथै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्ति कायम राख्न सबै पक्षलाई संयम अपनाउन अपिल गर्दै कानुनविपरीत गतिविधिमा संलग्न जोसुकैलाई पनि कारबाही गरिने स्पष्ट पारेको छ।

 

 

प्रकाशित: १५ श्रावण २०८३ १७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App