२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

‘हायु’ जातिको उदगम र विकास

समाज

नेपालमा सूचीकृत आदिवासी जनजातिको वर्गीकरणअनुसार दश वटा समुदाय तथा जातिलाई लोपोन्मुखमा राखिएको छ। ती दश लोपोन्मुख जातिमध्ये एक हो हायु। यो नेपालको जातीय र भाषिक विविधताभित्र फरक पहिचान बनाएको जाति हो। लोपोन्मुख भाषाभाषीको सूचीमा राखिएको हायु जाति सानो सङ्ख्यामा रहेका छन्। हायु जाति सांस्कृतिक धरोहर, मौलिक जीवनशैली र ऐतिहासिक विरासतका दृष्टिले महत्त्वपूर्ण छ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालभर यो जातिको संख्या तीन हजार ६९ रहेको छ। त्यसअघि २०६८ को जनगणनाअनुसार हायु जातिको संख्या २९ सय २५ रहेको थियो। यसरी हेर्दा १० वर्षमा हायु जातिको संख्या बढेको देखिए पनि उनीहरूलाई लोपोन्मुख जातिको समूहमा राखिएको छ।

उद्गम र ऐतिहासिक पृष्ठभूमि

हायु जातिको ऐतिहासिक उद्गम इतिहास, भाषिक विश्लेषण र सांस्कृतिक अनुकरणहरूबाट उनीहरूको उत्पत्ति किरात समुदायभित्रै भएको तथ्यहरूले देखाएको छ। किरात जातीय समूहभित्र पर्ने हायुहरूले पूर्वी नेपाल विशेष गरी रामेछाप, ओखलढुंगा र सिन्धुली क्षेत्रलाई आफ्नो परम्परागत वासस्थान बनाएका छन्।

हायु जातिको भाषा ‘हायु’ हो, जुन तिब्बती–बर्मेली भाषासमूहभित्र पर्छ। यो भाषा नेपाल सरकारद्वारा संरक्षित लोपोन्मुख भाषाहरूमा सूचीकृत छ। हायु जातिको मौलिक भाषिक स्वरूप र संस्कार उनीहरूको आदिम समयदेखिको सांस्कृतिक निरन्तरताको प्रमाण भएको आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ बताउँछन्।

भाषा, संस्कृति र साक्षरता

हायु जातिको प्रमुख चिनारी भनेकै उनीहरूको भाषा हो। दुर्भाग्यवश, यो भाषा नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ। २०६८ को जनगणनाअनुसार नेपालमा जम्मा करिब २९ सय २५ हायु जातिको जनसंख्या थियो। यसमा पनि मातृभाषीको संख्या १५ सय थियो। तर २०७८ को जनगणनामा यो संख्या घटेर ११ सय ३३ पुगेको छ।

आदिवासी जनजाति समुदायको समग्र स्थितिको अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार हायु जातिको जम्मा जनसंख्यामध्ये २१ सय २७ जनाले लेख्न र पढ्न सक्छन् भने चार जनाले पढ्न मात्र जान्छन्। यस्तै पढ्न लेख्न नजान्ने संख्या सात सय ११ रहेको छ भने यो जातिको साक्षरता प्रतिशत ७४ रहेको प्रतिवेदनमा उल्लेख छ।

पछिल्लो समय यो जातिको रहनसहन, बानीव्यवहार, खानपान र जीवनशैली बदलिँदै गएको छ। सरकारले मासिक सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। यो सामाजिक सुरक्षा भत्ताले हायु जातिको सामाजिक, शैक्षिक र आर्थिक अवस्थामा सुधार आएको हायु समुदायका अगुवा गुणबहादुर हायुले बताए।

उनले भने, ‘पहिला भोक टार्ने जंगली गिट्ठा, तरुललाई हायुले यतिबेला बिर्सिन थालेसकेका छन्। पेटभरि खान पाएका छन्। बालबालिका विद्यालयमा पढ्न पाएका छन्। सडक सुविधा थपिँदै गएको छ। बिजुली बत्ती घरघरमा पुगेको छ। समग्रमा हायु जातिको जीवनशैली व्यवस्थित बन्दै गएको छ।’

सरकारले अहिले लोपोन्मुख हायुलाई प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ। यो भत्ता पाँच सय रुपैयाँबाट सुरु भएको थियो। सरकारले दिएको सुविधाका कारण आफूहरूको जीवनस्तर राम्रो बन्दै गएको उनीहरूको भनाइ छ।

सामाजिक संरचना र जीवनशैली

हायु जाति परम्परागत रूपमा आत्मनिर्भर कृषि प्रणालीमा आधारित समुदाय हो। उनीहरूको बसोबास मुख्यतः पहाडी भूभागमा रहेको छ। यसले गर्दा उनीहरूको जीवनशैली श्रमसाध्य र सरल हुन्छ। उनीहरूको सामाजिक संरचना सामूहिकताको परम्परामै आधारित छ। विवाह, जन्म, मृत्युलगायतका सामाजिक रीतिलाई सामूहिक सहभागितामार्फत सम्पन्न गरिन्छ। यद्यपि आधुनिक शिक्षा, सहरीकरण र धर्म परिवर्तनको प्रभावमा परम्परागत संरचना कमजोर हुँदै गएको हायु जातिका अगुवाहरू बताउँछन्।

हायु जातिलाई आर्थिक रूपले हेर्दा यिनीहरूको सम्पन्नता हुने प्रतिशतमा पनि भिन्नता रहेको देखिन्छ। अध्ययन प्रतिवेदनअनुसार यो जातिमा अति न्यून आर्थिक स्रोत भएकाहरूको संख्या ३४.९६ प्रतिशत, न्यून २१.०२ प्रतिशत, मध्यम २८.७४ प्रतिशत, उच्च ९.४५ प्रतिशत र अति उच्च ५.८३ प्रतिशत रहेको छ।

अहिलेको अवस्था र चुनौती

आजको युगमा हायु जातिको भाषा, संस्कृति र पहिचान संकटमा छ। शिक्षाको पहुँच नपुगेका, गरिबीले पिल्सिएका तथा सामाजिक–आर्थिक अवसरबाट पछि पारिएका हायुहरू आफ्नो मौलिक संस्कृति गुमाउने खतरा सामना गरिरहेका छन्।

विशेष गरी धर्म परिवर्तन, सहरी पलायन र नयाँ पुस्तामा मौलिक चासोको कमीका कारण हायु संस्कारहरू कमजोर बन्दै गएका आयोगका सदस्य गुरुङले बताए। उनका अनुसार हायु जातिका मानिसहरूको मानसिक रूपमा विकास नभएसम्म उनीहरूको जीवनस्तर सुध्रिन गाह्रो हुनसक्छ।

नेपाल सरकारले हायु जातिलाई आदिवासी जनजातिका रूपमा मान्यता दिएको भए पनि उनीहरूको जीवनस्तर उकास्ने ठोस योजना भने बनाएको देखिँदैन। यसका लागि शिक्षा, रोजगारी, भाषा संरक्षण र सांस्कृतिक पुनर्जागरणमा दीर्घकालीन रणनीति आवश्यक रहेको आयोगका सदस्य गुरुङको भनाइ छ।

‘हायु जातिलाई भत्ता मात्र दिएर हुँदैन। भत्ताबाट आएको पैसालाई कसरी व्यवस्थित तरिकाले खर्च गर्ने भन्नेबारे ज्ञान दिन जरुरी छ,’ उनले भने, ‘जबसम्म हायु जातिमा सचेतना आउँदैन, यस जातिमा विकास हुन सक्दैन।’

हायु जातिको उद्गम किराती सांस्कृतिक संरचनाभित्र गहिरो ऐतिहासिक सन्दर्भ बोकेको छ। यिनीहरू नेपालका मौलिक जनजाति हुन्, जसको पहिचान भाषा, परम्परा र जीवनशैलीमा अभिव्यक्त हुन्छ। वर्तमान समयमा उनीहरूको भाषा र संस्कृति जोगाउन सरकार, संस्थाहरू र स्वयं समुदायको सक्रिय सहभागिता अपरिहार्य भएको छ। हायु जातिको समृद्ध इतिहास र परम्पराको संरक्षण नेपालकै विविधतायुक्त पहिचान जोगाउने दिशामा एक महत्त्वपूर्ण पाइला हुनसक्छ।  

प्रकाशित: २४ श्रावण २०८२ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App