२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
समाज

निष्कासन र निलम्बनको विरोध

निष्कासनमा परेका संस्थाका शेयर सदस्य तथा कर्मचारी

एक महिनाअघि इटहरी-१ मा सञ्चालित कामधेनु दूग्ध विकास संस्थाका बजार प्रतिनिधिको आत्महत्या प्रकरणपछि संस्थाका दुई जना शेयर सदस्य निष्कासन गरिएको छ । एक जना कर्मचारीलाई तीन महिनालाई निलम्बन गरिएको छ ।  

कार्त्तिक १७ गते कामधेनुका बजार प्रतिनिधि झापा घर भएका प्रेमकुमार मिश्रको आत्महत्यापछि संस्थाका पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी र शेयर सदस्य मनोज दाहाललाई निष्कासन गरिएको हो । कर्मचारी तेजप्रसाद सुवेदीलाईलाई निलम्वन गरिएको छ ।  

कामधेनु संस्थाले निष्कासन गरेका दुवै जना र निलम्वनमा परेका कर्मचारी सुवेदीले बिहीबार इटहरीमा संयुक्त पत्रकार सम्मेलन गरि घटनाप्रति आफूहरु अचम्भित भएको बताएका छन् ।  

तीन कार्यकाल अध्यक्ष भएका अधिकारीले भने, ‘संस्थाका अध्यक्ष यादवप्रसाद ढकालले बिना प्रक्रिया बाहुवलीका भरमा हामीमाथि व्यवहार गरेको छ, यस्तो गलत निर्णयले इतिहास बोकेको संस्था धरासायी हुँदैछ ।’

अधिकारीले २०८२ मंसिर १२ गते सञ्चालक समिति र उपसमितिको बैठकको निर्णय शेयर सदस्यबाट हटाएको र कारणमा भ्रामक तथा तथ्यहीन समाचार सम्प्रेषण भनेर उल्लेख भएको बताए ।  

‘पत्रमा उल्लेख गरिएको आरोप कुन समाचारको हो ? कुन पत्रिका, टेलिभिजन वा अनलाइनमा कुन समाचार हो ? केही उल्लेख छैन,’ अधिकारीले पत्रकार सम्मेलनमा पेस गरेको विज्ञप्तिमा भनिएको छ । उनले कामधेनु संस्थाका बारेमा कुनै सञ्चार माध्यममा आफूले कुनै समाचार वा विचार नलेखेको छैन र वेप्रमाणका उडन्ते आरोप लगाएर शेयर सदस्य खारेज गर्ने निर्णय गर्नु अत्यन्तै गरैजिम्मेवार र पूर्वाग्राही मात्र नभई सहकारी भावना तथा ऐन विरुद्द भएको बताए । उनले अब कानुनी प्रक्रियामा अघि बढने बताए ।  

सोही क्रममा अर्का शेयर सदस्य दाहालले समाचारको विषय जनाएर भ्रामक मनगढन्ते र असत्य आरोप लगाएर शेयर सदस्यको हक अधिकारमाथि धावा बोल्ने कुचेष्टा गरेको जिकिर गरेका छन् । उनले आफूले कामधेनुका अध्यक्ष यादव ढकालले गरेका गलत कार्यप्रति पटकपटक सचेत गराएको रिस फेरेको पत्रकारलाई बताए ।  

निलम्वनमा परेका कर्मचारी सुवेदीले आफूलाई हत्तोत्साहित गर्ने, फसाउने र नोकरीबाट निकाल्ने नियतले झुटो आरोप लगाएको जिकिर गरेका छन् ।  

कर्मचारी मिश्रले आत्महत्या गरेसँगै संस्थासँग सम्बन्धित विभिन्न आरोप–प्रत्यारोप सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट समाचार प्रकासन/प्रसारण भएका थिए । मृतक कर्मचारी मिश्रले सुसाइट नोटमा बजार प्रमुख रञ्जित झा र बजार सहायक शेरबहादुर खड्काको नाम उल्लेख गरेका थिए । यस्तो घटना हुनुको मुख्य दोष झा र खड्का भएको उल्लेख गरेको भेटिएको थियो ।  

मिश्रले कात्तिक १७ गते आफ्नै घरमा आत्महत्या गरेका थिए । उनी विर्तामोड बस्दै आएपनि मूल घर कमल गाउँपालिका हो । त्यही उनले आत्महत्या गरेका थिए । कर्मचारी मिश्रले संस्थाको सात लाखभन्दा बढी रकम तिनुपर्ने देखिएको थियो ।  संस्थाले पटकपटक ताकेता गर्दा पनि बजारबाटै उठ्नै नसकेको जवाफ दिएर टार्दै आएका थिए । जसमा उठ्न बाँकी भनिएका व्यापारीकोमा संस्थाका पदाधिकारी पुग्दा पैसा बुझाइ सकेको पत्ता लागेपछि मिश्रले आत्महत्या गरेको संस्थाले दावी गरेको छ ।  

संस्थाका कार्यबाहक अध्यक्ष इन्द्र बाँनियाले मृतक मिश्रले रोजेको निर्णयप्रति संस्था दुःखी भएर परिवारलाई राहत प्रदान गर्न संस्था लागि रहँदा कर्मचारी तेजप्रसादले मृतकका परिवारलाई दुईपटक सम्म घरमै गएर उक्साएको र पूर्व अध्यक्षबाट जुन व्यवहार भयो, त्यो संस्थाको ‘इमेज’ मा धक्का लगाउने गरि क्रियाकलाप भएपछि त्यस्तो निर्णय गरिएको बताए । उनले कर्मचारीले संस्थाका पदाधिकारीलाई बेइज्जत गराउने अनेक प्रपञ्च गरेको प्रमाण रहेको बताए ।  

‘पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारीले संस्थाको अहितमा निरन्तर लागेको र त्यसमा अर्का सदस्य मनोज पनि लागेकाले गर्दा बाध्य भएर शेयर सदस्यबाट निष्कासन गरिएको हो,’ उनले भने ।  

कामधेनु दुग्ध सहकारी संस्थामा अहिले एक हजार छ सयभन्दा बढी शेयर सदस्य रहेका छन् । संस्थाले आर्थिक वर्ष ६० करोड हाराहारी कारोबार गर्ने गरेको छ ।  

प्रकाशित: २५ मंसिर २०८२ १९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App