७ माघ २०८२ बुधबार
image/svg+xml
समाज

१८ घण्टापछि खुल्यो बेसीशहर-चामे सडक

तस्बिर: सुमन अधिकारी

अविरल वर्षाका कारण पहिरो खस्दा १८ घण्टादेखि अवरुद्ध रहेको बेसीशहर-चामे सडकखण्ड मंगलबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, हावाडाँडामा पहिरो जाँदा सोमबार रातिदेखि सडक पूर्ण रूपमा बन्द भएको थियो।

सोमबार राति करिब ८:१५ बजे सडकमाथिबाट पहिरो खसेपछि लमजुङ र मनाङ जोड्ने यो महत्वपूर्ण राजमार्ग अवरुद्ध बन्यो। रातभरि परेको अविरल वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले तत्कालै बाटो खुलाउन कठिनाइ भएको सडकका इन्जिनियर सुमन अधिकारीले जानकारी दिए।

मंगलबार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु गरिएको र दिउँसो १ बजेतिर सडक पूर्ण रूपमा खुलाइएको उनले बताए।

सडक अवरुद्ध हुँदा मनाङतर्फ जाने र बेसीशहरतर्फ आउने सयौं यात्रु र दर्जनौं सवारी साधनहरू बाटोमै अलपत्र परेका थिए। सडक खुलेपछि रोकिएका सवारी साधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।

यस सडकखण्ड वर्षायाममा बारम्बार पहिरोको चपेटामा पर्ने गर्दछ, जसले गर्दा स्थानीय बासिन्दा र पर्यटकहरूले सास्ती भोग्दै आएका छन्।

प्रकाशित: १३ श्रावण २०८२ १५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App