भत्किएका प्रहरी कार्यालय बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले नेपाल प्रहरीलाई सहयोग गरेको छ ।
नेपाल प्रहरीको उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरका विभिन्न सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको एनसीसीले जनाएको छ ।
जेन-जी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माण गर्न सहयोग गरिएको एनसीसीले जनाएको छ । उपत्यका प्रहरी परिसरले एक कार्यक्रमको आयोजना गरी सहयोगअन्तर्गतका १० सोफा सेट, ४० अफिस कार्य टेबल, ४० भिजिटर कुर्सी, २० चिया टेबल तथा १५ स्टील दराज (क्याबिनेट) उपलब्ध गराइएको हो ।
हस्तान्तरण कार्यक्रममा एनसीसी चीनका पदाधिकारीले नेपाल प्रहरीलाई आवश्यक सामग्री सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सकेसम्म योगदान गर्दै जाने प्रतिबद्धता जनाए ।

एनआरएनए अध्यक्ष डा. बद्री केसीले विश्वभर रहेका गैरआवासीय नेपालीले मातृभूमिको विपद् र संकटका घडीमा निरन्तर योगदान गर्दै आएको बताए । उनले जेन-जी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माण र अन्य आपतकालीन अवस्थामा एनआरएनए सधैं तयार रहेको बताए ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी जनताको शान्ति–सुरक्षामा अहोरात्र खटिरहने हुँदा यस विषम परिस्थितिमा एनआरएनए, विशेषगरी एनसीसी चीनबाट प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकाल, निवर्तमान अध्यक्ष तथा हाल आईसीसी सदस्य निर्मल शर्मा चौलागाई, उपाध्यक्ष प्रदीप नेपाल, सुरज व्याञ्जू, महासचिव सुरज न्यौपाने, सचिव कमल सापकोटा, सदस्य रोजेन माकजु, पञ्जीकृत सदस्य प्रियस खरेल र अंकित खतिवडा लगायतको उपस्थिति थियो ।
त्यसैगरी, आईसीसी तथा सचिवालय तर्फबाट अध्यक्ष डा. बद्री केसी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा सहायक निर्देशक रबिना महर्जन सहभागी भएका थिए ।
प्रकाशित: १० आश्विन २०८२ १७:२३ शुक्रबार




-600x400.jpg)
