भोटेकोसी बाढी गएको चार दिन बित्दा पनि सरकारले मानवीय र भौतिक क्षतिको आकलन गर्न सकेको छैन। बाढीले रसुवा हुँदै नुवाकोट, धादिङलगायत क्षेत्रमा ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ।
बुधबार बिहानदेखि नै सरकारले उद्धारको काम सुरु गरे पनि अहिलेसम्म मुख्य प्रभावित क्षेत्रमा सरकारको उपस्थिति अझै पुग्न सकेको छैन। उद्धारको प्रतीक्षामा अझै सयौं नागरिक रहेको अनुमान लगाउन सकिन्छ। बाढीले बस्ती नै परेका र बगेकाहरूको आँकडा सरकारले निकाल्न सकेको छैन।
रसुवादेखि धादिङसम्मका सडक, पुल, विद्युत्सहित सार्वजनिक सम्पत्तिको ठुलो क्षति भएको छ। निजी सम्पत्तिको कति नोक्सानी भयो भन्नेको त अहिलेसम्म हिसाब नै छैन। उद्धार तथा खोजी जारी रहेकै अवस्थामा पूर्ण क्षतिको यकिन विवरण निकाल्न कठिन हुनु स्वाभाविक भए पनि चार दिनसम्म पनि एकीकृत तथ्यांक प्रणाली सार्वजनिक हुन नसक्नुले नेपालको विपद् व्यवस्थापन संयन्त्रको कमजोरीलाई फेरि उजागर गरेको छ।
सोही क्षेत्रमा फेरि बाढी आउन सक्ने भन्दै सरकारले सुरक्षित रहन सबैलाई आग्रह गरेको छ। तर सरकारले समयमा आवश्यक सूचना सम्प्रेषण गर्ने संयन्त्र नबनाउँदा आम नागरिक थप आतंकित हुन पुगेका छन्। बाढी प्रभावितको तटीय क्षेत्रका नागरिक गाउँठाउँ छाडेर सुरक्षित स्थानको खोजीमा पहाड चढेका छन् तर उनीहरू कहाँ र कसरी बस्ने भन्ने सरकारसँग कुनै तयार नभएको देखिँदैन।
बाढीको जोखिम कायमै, सतर्कता अपनाउन आग्रह
नेपालस्थित चिनियाँ दूतावासले हिमपहिरोले बनेको तालमा पानीको सतह उच्च रहेकाले क्षतिको जोखिम कायमै रहेको जनाएको छ। दूतावासले शुक्रबार एक विज्ञप्ति निकालेर नेपाल–चीन सिमामा गएको पहिरोले बनेको तालको तल्लो तटमा रहेका स्थानीयलाई पानीको सतहको परिवर्तन नजिकबाट निगरानी गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
‘हालैका दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फको एक सहायक नदीमा हिमचट्टानको पहिरो गएको छ। पहिरोले नदी थुनेर सीमा नदीसँगै पहिरोले बनाएको ताल निर्माण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त तालमा अहिले पानीको सतह उच्च रहेको र पानी ओभरफ्लो हुन थालेकाले थप क्षति हुन सक्ने जोखिम बढेको छ।’
विज्ञप्तिमा पहिरोले बनाएको तालभन्दा तलतर्फका क्षेत्रमा रहेका स्थानीय समुदाय तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा भइरहेको परिवर्तनलाई नजिकबाट निगरानी गर्न, उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिम रोकथाम र आपत्कालीन प्रतिकार्यका लागि अग्रिम तयारी गर्न आग्रह गरिएको छ।
उद्धार तथा आपत्कालीन प्रतिकार्यका दृष्टिले वर्तमान अवस्था अत्यन्त संवेदनशील चरणमा रहेको प्रसंग उद्धृत गर्दै दूतावासले सर्वसाधारणलाई आधिकारिक सूचना मात्रै अनुसरण गर्न आग्रह गरेको छ। चीन र नेपाली निकायले अवस्थाको निरन्तर निगरानी गरिरहेको दूतावासको कथन छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार दिउँसो एक वक्तव्य प्रकाशित गरी बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। ‘भदौ १० गते रसुवाको भोटेकोसी नदीमा ठुलो बाढी आएकै क्षेत्रमा शुक्रबार पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेकाले भोटकोसी एवं त्रिशूली नदीकिनारमा उद्धार एवं राहतमा खटिनुभएका एवं विविध कारणले जोखिम क्षेत्रमा रहनुभएका सबैलाई सतर्कता अपनाउन र जोखिम देखिए तुरुन्त सुरक्षित स्थानमा जान अनुरोध गरिन्छ,’ वक्तव्यमा उल्लेख छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि मुग्लिनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट प्राप्त सूचनाअनुसार भोटेकोसीमा पुनः बाढी बढेकाले त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा बस्न अनुरोध छ,’ महाशाखाले शुक्रबार राति पौने ९ बजेको सूचनामा भनेको छ।
प्रकाशित: १३ भाद्र २०८३ ०७:१३ शनिबार





