मोरङको विराटनगरमा रहेको बालसुधार गृहमा रहेका बाल बिज्याइँकर्ता र इलाका प्रहरी कार्यालय पथरी तथ उर्लाबारीमा रहेको थुनुवाहरु फरार भएका छन्।
विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान बाल बिज्याइँकर्ताहरु फरार भएका हुन्। सुधार गृहमा रहेकामध्ये २ सय जनाभन्दा बढी बाल बिज्याइँकर्ताहरु भागेको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २ सय ५५ जना रहेका बाल बिज्याइँकर्ताहरुमध्ये ५० जनाजति भने भागेका छैनन्। ५० जनाजति भित्रै बसेका छन् भने अन्य सुधारगृहबाट फरार भएको बताइएको छ। भागेकाहरुले सुधार गृहको मुख्य गेटमा लगाएको चाबी एक्कासि फुटाएर भागेका हुन्। उनीहरुले सुधार गृहको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लछारछपार पार्दै फरार भएको प्रहरीले जनाएको छ।
सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। फरार भएकामध्ये करिब ६० जनालाई नियन्त्रणमा लिइसकिएको छ। भागेकालाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
फरार भएका बाल बिज्याइँकर्तालाई स्थानीयले पनि नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाएका छन् नियन्त्रणमा लिइएकाहरुलाई सुधार गृहभित्र राखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, विभिन्न मुद्दामा पथरी र उर्लालबारीमा थुनुवामा रहेकाहरु पनि फरार भएका छन्। इलाका प्रहरी कार्यालय पथरीमा रहेको १४ जना र इलाका प्रहरी कार्यालय उर्लाबारीमा रहेका १९ जना थुनुवा भागेको प्रहरीले जनाएको छ।
प्रकाशित: २५ भाद्र २०८२ १३:४७ बुधबार





