२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन

कुशेऔंसीको अवसरमा सडक आश्रित ‘बा’ हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ। आश्रमको सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्का लगायतले सडक आश्रित ‘बा’ हरूलाई आश्रममा प्रवेश गराई शनिबार सेवा शुभारम्भ गरेका थिए। सो अवसरमा सांसद तिमल्सिनाले आगामी दिनमा आश्रमलाई आवश्यक पर्ने वस्तुहरू सहयोग गर्ने बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खड्का, गढीमाई नगरपालिकाका उपप्रमुख स्मिता यादव, गरुडा नगरपालिका प्रमुख कन्थमणिप्रसाद कलवार, जिल्ला समन्वय समिति प्रमुख राम अयोध्या यादव, पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की, चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा, निजानन्द धामका सन्त गुरु सुरेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी अध्यक्ष शिव आचार्य लगायतले मानव सेवा आश्रमलाई सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए।

कार्यक्रममा उक्त आश्रम सञ्चालनका लागि तीन लाख ३८ हजार १२५ रूपैयाँ बराबर नगद तथा जिन्सी सहयोग प्राप्त भएको आश्रमका मधेस प्रदेश संयोजक विवेक महतोले बताए। गरुडा नगरपालिकाका प्रमुख कलवारले दुई लाख ५१ हजार रूपैयाँ नगरपालिकाको तर्फबाट र पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण यादवले ५१ हजार रूपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको आश्रमका प्रदेश संयोजक महतोले बताए।

यसैगरी कृष्ण प्रणामी युवा परिषद्ले ६० हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा,  जनज्योति बहुमुखी क्यामपस चन्द्रनिगाहपुरका स्ववियु सचिव साहिल पुरीले २० हजार, पशु चिकित्सक दुर्गाप्रसाद चिमोरियाले ११ हजार, प्रजापति पैडेलले ११ हजार १३०, विनोददास कथबनियाले १० हजार ५५५, अर्पणा देवकोटाले १० हजार रूपैयाँ सहयोग गरेको संयोजक महतोले बताए।

 यस्तै कृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति निजानन्दधाम,  पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष  कार्की लगायतले सहयोग गरेका थिए।

आश्रममा रौतहटका छ र अन्य जिल्लाका १४ जना गरी अहिले सो आश्रममा २० जना सडक आश्रित छन्। आश्रितलाई बास र खानाको सुविधा मात्र होइन, सीप, दक्षता र क्षमता विकास मार्फत समाजमा पुनःस्थापना गर्ने लक्ष्यका साथ सेवा विस्तार गरिएको उनको भनाइ छ। यही भदौ ५ गतेबाट सुरु गरिएको उद्धार अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि चन्द्रपुर नगरपालिका–१, बागमती मङ्गलपुरसम्म छ जना सडक मानवको उद्धार गरी आश्रममा स्थानान्तरण गरिएको छ। आश्रमका संयोजक विवेक महतोले २०८२ सालभित्रै रौतहटलाई सडक मानवरहित बनाउने लक्ष्य लिएको बताए।

प्रकाशित: ८ भाद्र २०८२ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App