राष्ट्रमा दिगो शान्ति, समृद्धि तथा लोककल्याणको कामनासहित आज बिहान श्रीपशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमापूजा गरिएको छ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) ले मूल मन्दिर परिसरमा देशमा शान्तिको सङ्कल्पसहित महारुद्राभिषेक शुभारम्भ गरेका हुन्।
रसुवा बाढीमा परी जीवन गुमाएका, हराइरहेका र घाइते भएकाको कल्याणको कामनाले महारुद्राभिषेक गरिएको हो।
राष्ट्रमा आइपरेको विकराल प्राकृतिक विपत्तिको सामना गर्दै सम्पूर्ण नेपाली जनताको सुख, दिगो शान्ति, समृद्धि तथा सामाजिक सद्भाव कायम होस् भन्ने पवित्र सङ्कल्पका साथ आराध्यदेव भगवान् श्री पशुपतिनाथको पावन सान्निध्यमा महारुद्राभिषेक महायज्ञ गरिएको हो।
पशुपतिनाथ मन्दिरमा १२१ जना ब्राह्मणद्वारा महारुद्री पूजा, हवन तथा शान्तिपाठसमेत गरियो। साथै, श्री गुह्येश्वरी मन्दिरमा नौ जना ब्राह्मणले चण्डी पाठ पारायणसहित क्षमापूजा तथा वैदिक विधि–विधानअनुसार शान्ति अनुष्ठान सम्पन्न गरिएको छ।
यसैगरी माता गुह्येश्वरी, नवशक्तिपीठ, भैरव, ११ महारुद्र, आगम घरका भगवान् तथा पशुपति क्षेत्रका अन्य देवी–देवताहरूमा पनि विशेष क्षमापूजा गरिएको कोषले जनाएको छ।
प्रकाशित: १६ भाद्र २०८३ १८:१८ मंगलबार





-600x400.jpg)