लैंगिक हिंसा आफुले नगर्ने र अरुलाई पनि हिंसा गर्न नदिने लुम्बिनी प्रदेशका सम्वद्ध सरोकारवालाले प्रतिवद्धता ब्यक्त गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा मंगलबार आयोजना गरेको कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका सरोकारवालाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा उपस्थित मन्त्री, प्रदेश सांसद, कर्मचारी, सुरक्षा निकाय, शिक्षक, सामाजिक अगुवा, अधिकारकर्मी, विद्यार्थी लगायतले लैंगिक हिंसा नगर्ने सामुहिक रुपमा प्रतिवद्धता जनाए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लैंगिक हिंसा नगर्ने प्रतिवद्धता सहित सबैले आफ्नो घरबाट अभियान सुरु गर्नुपर्ने बताए ।
‘हामीले आफ्नै घरबाट लैंगिक हिंसा नगर्ने प्रतिवद्धता जनाउन आवश्यक छ,’ उनले भने । आर्थिक रुपले सबै सक्षम भएपछि मात्र लैंगिक हिंसाको अन्त्यगर्न सकिने मन्त्री तिमिल्सिनाको भनाई छ । अर्को प्रसंगमा उनले लैंगिक हिंसा अन्त्यगर्न शिक्षामा परिवर्तन ल्याउनआवश्यक रहेकोमा जोड दिए ।
‘जबसम्म शिक्षामा परिवर्तन ल्याउन सक्दैनौं, तबसम्म हाम्रो सोचमा परिवर्तन ल्याउन सक्दैनौं,’ मन्त्री तिमिल्सिनाले भने । प्रदेश सरकारले चाँडै महिला ऐन ल्याउन लागेको उनले जानकारी दिए । मन्त्रालयका महिला महाशाखा प्रमुख सम्झना सुवेदीले प्रत्येक घर, समुदायमा लैंगिक हिंसा विरुद्धको अभियानलाई लैजान जरुरी रहेको बताइन् ।
समाज परिवर्तन सँगै लैंगिक हिंसाको स्वरुप पनि परिवर्तन हुँदै गएको महाशाखा प्रमुख सुवेदीले जानकारी दिइन् । लुम्बिनी प्रदेशमा हुने गरेका कुल अपराधको झण्डै एक तिहाई अपराध लैंगिक हिंसा सम्बन्धी रहेको उनले बताइन् ।
प्रकाशित: २३ मंसिर २०८२ १९:४१ मंगलबार





