२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
खेल

उपाधि होडबाट बाहिरियो काठमाडौं, लुम्बिनी ४ विकेटले विजयी

काठमाडौं गोर्खाजको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्ने सपना समाप्त भएको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ‘एलिमिनेटर’ खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित हुँदै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको हो।

यो जितसँगै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि लुम्बिनीले पहिलो क्वालिफायरमा  विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौं गोर्खाजले निकै खराब प्रदर्शन गर्‍यो। लुम्बिनीका बलरसामु निरीह साबित भएको काठमाडौं १९.१ ओभरमा १११ रनमै अलआउट भयो।

**

काठमाडौंको सुरुवात लज्जास्पद रह्यो। पावरप्लेभित्रै शीर्ष ४ ब्याटर गुमाएको काठमाडौंले १४ रन जोड्दा बेन चार्ल्सवर्थ (४), आकाश त्रिपाठी (१), मिलिन्द कुमार (२) र सन्नी पटेल (७) लाई गुमाइसकेको थियो।

मध्यक्रममा जोन सिम्पसनले १८ रन र भीम सार्कीले १४ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन्। तल्लो क्रममा सन्तोष यादवले सर्वाधिक २३ रन बनाए भने मोहम्मद आदिल आलमले १८ रनको योगदान दिए।

काठमाडौंलाई सस्तैमा समेट्न लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले घातक बलिङ गरे। दुवैले ४–४ ओभर बलिङ गर्दै क्रमशः २२ र २५ रन खर्चेर समान ३–३ विकेट लिए। रुबेन ट्रम्पेलम्यानले २ विकेट हात पारे।

११२ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान दिए।

यस्तै, सन्दीप जोराले २३ रन र कप्तान रोहित पौडेलले १८ रन बनाए। निरोशन डिकवेलाले १४ रन जोडे। खेलको अन्त्यतिर रुबेन ट्रम्पेलम्यानले अविजित ५ रन र दीलिप नाथले ७ रन बनाउँदै टोलीलाई जितको हकदार बनाए।

काठमाडौंका बलरहरूले सानो लक्ष्य रक्षा गर्न संघर्ष गरे पनि जित दिलाउन सकेनन्। काठमाडौंका लागि सन्तोष यादवले २ विकेट लिए भने करण केसी, सन्नी पटेल, साहब आलम र रसिद खानले १–१ विकेट लिए।

यो हारसँगै काठमाडौं गोर्खाजको एनपीएल यात्रामा पूर्णविराम लागेको छ भने लुम्बिनी लायन्स उपाधिको एक कदम नजिक पुगेको छ।

प्रकाशित: २४ मंसिर २०८२ १९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App