नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहका कारण आफूहरूले असहमति हुँदाहुँदै पनि निर्वाचनअघि नै १५ औँ महाधिवेशन गर्ने निर्णय स्वीकार गरेको खुलासा गरेका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै नेता निधिले महाधिवेशनको मिति तय गर्ने क्रममा सभापति देउवाले आफू सक्रिय राजनीतिबाट बिदा हुने बेला पार्टी फुटेको हेर्न नचाहेको बताएपछि अन्य नेताहरू लचिलो बनेको बताएका हुन्।
नेता निधिले महाधिवेशनबारे पार्टीभित्र चार थरी धारणा रहेको र आफूहरू निर्वाचन पछि मात्र महाधिवेशन गर्ने पक्षमा रहेको स्मरण गरे। तर, सभापति देउवाले पार्टी फुटको संघारमा पुग्न लागेको भन्दै रोक्न आग्रह गरेका थिए।
‘विशेष महाधिवेशनको माग उठिरहेका बेला सभापतिजी (शेरबहादुर देउवा) ले भन्नुभयो– म सक्रिय राजनीतिबाट अब विश्राम लिने बेलामा छु। म जाँदाजाँदै पार्टी फुटेको हेर्न चाहन्नँ, म एउटा एकताबद्ध पार्टी छोडेर जान चाहन्छु,’ देउवाको भनाइ उद्धृत गर्दै निधिले भने, ‘उहाँको यो भनाइपछि हामीले आफ्नो अडान छोड्यौँ। विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने तर्कमा म सहमत त थिइनँ, तर सभापतिजीलाई त्यो लाग्यो। त्यसैले उहाँको सम्मान र पार्टी एकताका लागि हामीले पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय मान्यौँ।’
प्रकाशित: २४ मंसिर २०८२ १९:३१ बुधबार





