२४ कार्तिक २०८२ सोमबार
image/svg+xml ५:३१ पूर्वाह्न
समाज

पहिरोले गुल्मीमा दुई सडक अवरुद्ध

अविरल वर्षाको कारण पहिरो गएपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। 

कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि आज उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

सडक अवरुद्ध भएपछि त्यस क्षेत्रमा अहिले दुवैतर्फका सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्। अवरुद्ध सडक सञ्चालन गर्न सडक निर्माण कम्पनीबाट स्काभेटर तयारी अवस्थामा राखिएको भए पनि पानी परिरहेको र सडक माथिबाट पहिरो खसिरहेको कारण तत्काल सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। 

त्यसैगरी जिल्लाको मुख्य सडकअन्तर्गत रिडी–वामीटक्सार खण्ड पनि अवरुद्ध भएको छ। उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका-६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि आज उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको सूचना अधिकारी सारुले बताए।  

डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै बागलुङको बुर्तिबाङसम्म आवतजावत गर्ने सवारी साधन यतिबेला बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ। डहरे खोलाले गत साता एउटा कार पनि बगाइदिएको थियो। अवरुद्ध सडक सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालयले जोहाङ् खैरेनी र पुर्तीघाटबाट प्रहरी टोली परिचालन गरिसकेको जनाएको छ।  

जिल्ला प्रशासन कार्यालयले वर्षाको समयमा खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ। त्यसैगरी वर्षाको कारण बडिगाड खोला र कालीगण्डकीमा पनि पानीको सतह बढ्दै गएको छ। रासस

प्रकाशित: २८ श्रावण २०८२ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App