तान्त्रिक यौन योग कक्षा सञ्चालन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। थाइल्याण्डको कोह फागंन टापुमा प्रति सत्र ४०० भाट (१० पाउण्ड) मा कक्षा चलाउँदै आएकी ४० वर्षीया बेलायती महिला मारिया श्चेटिनीनालाई पर्यटक प्रहरीले पक्राउ गरेको हो।
उनी होटल व्यवस्थापन फर्ममा ‘ग्राहक सम्बन्ध प्रबन्धक’ थिइन् तर वैध अनुमति बिना योग शिक्षिका बनेकी थिइन्। नोभेम्बर ५ मा रेस्टुरेन्ट पछाडि छापा मार्दा उनी कक्षा सञ्चालन गर्दै थिइन्।
प्रहरीले टिकट, पर्चा, ‘तन्त्र योग पवित्र यौन’ लेखिएको नोट बुक र उनको फोटो भएको बिल बोर्ड बरामद गरेको छ। ‘मेरो वकिलले भने कि यो ठिक छ,’ उनले प्रहरीलाई भनिन्। पर्यटक प्रहरी निरीक्षक विनित बुनचिटले भने, ‘सन्दिग्ध व्यक्तिको व्यवहारले विदेशीहरूको कार्य व्यवस्थापन आपत्कालीन आदेशको उल्लङ्घन गर्दछ।’
यसअघि मार्चमा पोलिस प्रभावकार र सेप्टेम्बरमा बालीमा अमेरिकी महिलालाई पनि यस्तै आरोपमा पक्राउ वा देश निकाला गरिएको थियो। यसै साता दुई अजरबैजानी पुरुषलाई अनुमति बिना बिजुली जडान गरेको आरोपमा पक्राउ गरियो।
प्रहरीले पर्यटन छवि जोगाउन यस्ता गतिविधिमा कडाइ गरेको छ। मारियालाई कोह फागंन प्रहरीमा बुझाएर मुद्दा अघि बढाइएको छ। एजेन्सी
प्रकाशित: २२ कार्तिक २०८२ ०९:३१ शनिबार





