२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। आज (शनिबार) बिहान करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नागरिकन्युजलाई जानकारी दिए।

आलमको शव अन्तिम दाहसंस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकिएको भट्टराईले बताए। पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। त्सपछि उनी भारत गएर उपचार गराएका थिए।

आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए। विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री भएका थिए।

त्यसपछि उनी २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए। त्यसपछि उनी भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए। उनी विसं २०६७ को पार्टीको १२ औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

स्व आलमले विसं २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताएका थिए।

उनलाई गत जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाले कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो। पूर्वमन्त्री आलमको दुई छोरा र एक छोरी छन्।

प्रकाशित: २२ कार्तिक २०८२ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App